प्रचण्डले सरकार ढाल्न सक्ने ओलीको आशंका

शनिबार सरकारका दुई वर्षे उपलब्धि सुनाएका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार झापा हान्निए । झापाको दमकमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले विकासको रफ्तार रोक्न सरकार ढाल्ने षड्यन्त्र भएको दाबी गरे । यता बाँकेमा आयोजित पाँच नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पुगेका नेकपाका अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र नभएको बताए ।

संवैधानिक व्यवस्थाअनुसार सरकार गठन भएको २ वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न पाइँदैन । २०७४ फागुन ३ मा प्रधानमन्त्री भएका ओलीले २ वर्ष सरकार संचालन भएको भर्खरै पूरा भएको हो । यसको मतलव अब सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सकिनेछ । संसद्मा अविश्वासको प्रस्ताव दर्ता गर्न बाटो खुलेलगत्तै प्रधानमन्त्री ओलीले सरकार ढाल्न चलखेल भएको बताएका हुन् ।



कसलाई सङ्केत गरे प्रधानमन्त्रीले ?
सरकार ढाल्न लागिरहेको बताएका प्रधानमन्त्री ओलीले कसले षड्यन्त्र गरिरहेको भन्ने विषय भने खुलाउन चाहेनन् । दुई तिहाई समर्थन गुमाए पनि सरकारसँग सुविधाजनक बहुमत रहेको छ । प्रमुख प्रतिपक्षी कांग्रेससँग अविश्वासको प्रस्ताव दर्ता गर्न आवश्यक संख्यासमेत संसद्मा छैन । अविश्वासको प्रस्ताव दर्ता गर्न संसद्को एक चौथाइ अर्थात् ६९ सांसद चाहिन्छ तर कांग्रेससँग प्रतिनिधिसभामा ६३ सांसद मात्र छन् ।

त्यसमध्ये विजयकुमार गच्छदार भ्रष्टाचार अभियोग र मोहम्मद आफ्ताव आलम फौजदारी मुद्दा लागेर निलम्बित छन् । कांग्रेसले अविश्वास प्रस्ताव ल्याउनु परे अर्को प्रतिपक्षी दलको समर्थन जुटाउनुपर्छ । एक पटक अविश्वासको प्रस्ताव पेस गरेपछि अर्को एक वर्षसम्म फेरि अविश्वासको प्रस्ताव ल्याउन नपाइने संवैधानिक व्यवस्था छ । अविश्वासको प्रस्ताव पेस गर्दा भावी प्रधानमन्त्रीको नामसमेत प्रस्ताव गर्नुपर्छ ।

प्रमुख प्रतिपक्षी दल नै अविश्वासको प्रस्ताव लैजाने हैसियतमा नभएको अवस्थामा प्रधानमनत्रीले सरकार ढाल्ने षडयन्त्र भैरहेको बताइरहँदा स्वाभाविक रूपमा उनमा प्रचण्डले बदमासी गर्ने हुन् की भन्ने डर रहेको बुझ्न सकिन्छ ।

के छ प्रचण्डको तयारी ?
स्वाभाविक रूपमा पछिल्लो सत्ता समीकरणलाई नियाल्दा सरकार ढाल्ने तागत कसैसँग छ भने त्यो प्रचण्डसँग नै छ । सभामुख छनौट प्रक्रियामा नेकपाभित्र ओलीलाई एक्ल्याएका प्रचण्डले चाहे भने जुनसुकै बेला सरकार ढालेर आफू या आफूले चाहेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन सक्छन् ।

पछिल्लो समय सरकारका काम कारर्वाहीप्रति औंला उठाइरहेका प्रचण्ड नै सरकार ढाल्ने खेलमा लाग्न सक्ने डर ओलीमा छ । त्यसैको सङ्केत आइतबार दमकबाट ओलीले व्याक्त गरेको बुझ्न सकिन्छ । यद्यपि आइतबारकै एक कार्यक्रममा ‘प्रचण्डले पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र नभएको’ बताइरहँदा ओलीको आशंकाको जवाफ दिएजस्तो देखिन्थ्यो ।

आइतबार के भने प्रचण्डले ?
प्रचण्डले प्रधानमन्त्री हुनका लागि अथवा पद प्रतिष्ठा केही प्राप्त गर्ने उद्देश्यका लागि पार्टी एकता गरिएको थियो कि भन्ने कुरामा सत्यता नभएको बताएका थिए । उनले मुलुक र जनताको समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको भविष्य सुदृढ गरी समाजवादको मार्ग तय गर्न पार्टी एकता गरिएको बताएका थिए । विभिन्न मतभेदलाई चिर्दै धैर्यसाथ एकताको कामलाई स्थानीय तहसम्म पुर्याएर जनतामा सकारात्मक सन्देश दिन पार्टी सफल भएको उनले जिकिर गरेका थिए ।

सम्बन्धित समाचार