उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल दार्चुलाको कालापानी क्षेत्रको भ्रमणका लागि उडेका छन् । आज बिहान सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर लिएर रक्षा मन्त्री पोखरेल सोमबार बिहान त्यसतर्फ उडेका हुन् । ब्यास गाउँपालिका वडा नम्बर १ गागामा स्थापना गरिने सशस्त्र प्रहरीको बिओपी निर्माण गरिने ठाउँ र कालापानीको वस्तुस्थिती बुझ्न मन्त्रीसहित जनप्रतिनिधी र सेनाका प्रतिनिधि त्यसतर्फ गएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।
हिजो दार्चुला आइपुगेका मन्त्री पोरखेलले दार्चुलास्थित नेपाली सेनाको व्यारेक पहिलोपटक निरीक्षण गरे । भ्रमणका लागि गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ । उपप्रधानमन्त्रीको टोलीमा १० जना सहभागी रहेको जनाइएको छ ।
उपप्रधानमन्त्री भएपछि पहिलो पटक दार्चुला भ्रमण गर्न लागेका पोखरेलले यसअघि २०५३ सालमा दार्चुला भ्रमण गरेका थिए । तत्कालीन अवस्थामा नेकपा एमालेको केन्द्रीय सदस्यको भूमिकामा पोखरेल २०५३ मङ्सिर १७ गते दार्चुला आएका थिए । सैनिक अधिकारीसहित व्यास क्षेत्रमा भ्रमण गर्ने भएपछि सुरक्षा सतर्कता बढाइएको छ ।