पूर्व सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयासको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका छन् । न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले सोमबार महराविरुद्धको मुद्दामा फैसला गर्दै सफाइ दिएको हो ।
अभियोगमा गरिएको मागदाबीमा प्रमाण नपुगेको भन्दै जिल्ला अदालत काठमाडौंले महरालाई बलात्कार प्रयासको आरोपमा सफाइ दिएको हो । अदालतबाट सफाइ पाएपछि महराले छोटो प्रतिक्रिया मात्र दिएका छन् । उनले आफूलाई सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका छन् । अदालतबाट बाहिरिंदा महरा प्रसन्न मुद्रामा देखिएका थिए । उनले शुभेच्छुकलाई हात जोडेर अभिवादन समेत गरे ।
आइतबार महराका पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत ८ वकिलले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलले जवाफ दिएका थिए ।
महराविरुद्ध करणी प्रयासमा ५ वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरिएको थियो । फैसलापछि महरालाई डिल्लीबजार कारागार लगिएको छ । अब कारागारले आवश्यक प्रक्रिया पूरा गरेपछि महरा रिहा हुने जनाइएको छ ।
गएको असोज १२ गतेर संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूलाई जबरजस्ती करणी प्रयास गरेको बताएकी थिइन् ।
सोही घटनाका कारण महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिनु परेको थियो । उजुरी दर्ता भएपछि उनी असोज १९ गते पक्राउ परेका थिए । तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध महराले उच्च अदालत पाटनमा पुनरावेदन दिए पनि जिल्लाकै आदेश सदर भयो । अदालतमा बयान दिँदा भने आरोप लगाउने शाहीले महराले आफूलाई करणी प्रयास नगरेको बताएकी थिइन् । उनले सोही विवरणको निवेदन समेत अदालतमा दिएकी थिइन् ।