‘एम’ सर ‘फरगेट एस्टर्डे’

जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएसँगै उनी झण्डै पाँच महिनाको कारागार बसाइपछि आज घर फर्किएका छन् । एक महिला कर्मचारीलाई बलात्कार प्रयासको अभियोगमा कारागारमा रहेका महराविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंले सफाइ दिने फैसला गरेपछि कारागार मुक्त भई घर फर्किएका हुन् ।

आजै न्यायाधीश अम्बरराज पौडेलको इजलासले प्रमाणका आधारमा पूर्वसभामुख महरालाई सफाइ दिने फैसला गरेको थियो । ‘घटनाको अनुसन्धानका क्रममा भएको बयान र अदालतमा गरिएको बयान तथा पीडितले गरेको वकपत्र अध्ययन गर्दा एवं घटना भएको दिन आफ्नो कोठामा प्रतिवादी आउँदै नआएको पीडितको स्पष्ट बयान सफाइ पाउने आधार हो’, अदालतमा श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले भने, ‘जाहेरवाला पीडितले कुटपिट गरेकोलगायतको अभियोग दाबीबमोजिमको प्रयास नगरेको पीडितको वकपत्र र बयानमा स्पष्ट छ ।’



फैसलाको अर्को मुख्य आधारमा औंठा छाप परीक्षण गर्ने विशेषज्ञको प्रतिवेदनअनुसार घटना भएको समयमा गिलास, चस्मासमेतमा औंठाको छाप महराको औंठा छापसँग नमिलेको हुँदा अभियोगअनुसार दाबी नपुगेको देखिएको फैसलामा उल्लेख छ ।

निवर्तमान सभामुख महरा गत कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलाशले महरा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । सो आदेशअघि महरा गत असोज १९ गतेदेखि कात्तिक १८ गतेसम्म झण्डै एक महिना प्रहरी हिरासतमै बिताए ।

पूर्वसभामुख महराले जिल्ला अदालतको थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएको उल्लेख गर्दै साधारण तारेखमा रही पुर्पक्ष गरिपाउँ भन्ने निवेदन उच्च अदालतमा निवेदन गत मङ्सिर ५ गते दर्ता गराएका थिए । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँबरको इजलासले महरालाई धरौटीमा छाड्न अस्वीकार गर्दै काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई सदर गरेको थियो ।

पूर्वसभामुख महराविरुद्धको घटना गत असोज १२ गते प्रहरीले सार्वजनिक गरेको थियो । सोही अभियोगमा गत असोज १९ गते काठमाडौं जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोग पुष्टि नभएपछि पुर्पक्षका लागि थुनामा रहेका महरा सफाइ पाएर घर फर्किएका छन्।

के भन्छिन् रोशनी शाही ?
पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिने काठमाडौं जिल्ला अदालतको निर्णयप्रति संसद सचिवालय कर्मचारी रोशनी शाहीले खुसी व्यक्त गरेकी छन् । रोशनीले भनिन् ‘महरा सर निर्दोश हुनुहुन्थ्यो। उहाँले न्याय पाउनुभएको छ, मैले पनि न्याय पाएकी छु’ । दुख दिन खोज्नेहरु पराजित भएको उनले बताईन् ।

रोशनीले राज्यले नै महरालाई दुःख दिन खोजेको पनि बताईन्। हिजोका दिनहरु आफूले पनि बिर्सन चाहेको र महरा सरले पनि बिसर्नुपर्ने उनको भनाई थियो । रोशनीले शुरुमा महराले आफूलाई बलात्कार प्रयास गरेको आरोप एक भिडियो अन्तर्वार्तामार्फत लगाएकी थिइन् । उक्त अन्तर्वार्ताको विषयमा रोशनीलेअस्वस्थ भएकोबेला के बोले भन्ने थाहा नै नपाएको प्रतिक्रिया दिएकी थिइन् ।

षडयन्त्रको विस्तारै पर्दाफास गर्नेछुः महरा
आफूमाथि षडयन्त्र भएको बताउँदै सो षडयन्त्रको आफूले विस्तारै पर्दाफास गर्दै जाने पूर्व सभामुख कृष्णबहादुर महराले बताएका छन् । बलात्कारको आरोपमा आफूलाई षडयन्त्रपूर्ण ढंगले फसाउने काम भएको उनले बताए । घटनाको विस्तारै पर्दाफास हुँदै जाने महराको भनाइ थियो ।

सम्बन्धित समाचार