प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउने महाअभियानमा रहेको बताएका छन् । उनले धुलिखेल नगरपालिकाको ३४औं स्थापना दिवसलाई आज सम्बोधन गर्दै डिजिटल नेपालका लागि विकास र सेवाका क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गर्ने नीति लिइएको जानकारी दिए ।
उनले भने, ‘डिजिटल नेपालका लागि विकास र सेवाका हरेक क्षेत्रमा आधुनिक प्रविधि कार्यान्वयन गर्दै अघि बढिरहेका छौं, फोरजी सेवा पनि सबै जिल्लामा पुगिसक्यो । हरेक दिन हामी युगान्तकारी काम गरिरहेका छौं, देश आधुनिकता, विकास, सामाजिक न्याय–समानता र समृद्धितर्फ अघि बढिरहेको छ’, उनले भने ।
प्रधानमन्त्री ओलीले सरकार महिला र पिछडिएका समयुदायको उत्थान, रोजगारी र युवालाई विदेशप्रति विकर्षणका कार्यक्रम ल्याइएको बताए । उनले भने, ‘अब हाम्रा प्रतिभा, श्रम–सामथ्र्य बाहिर नजाऊन् भन्नका लागि सीपयुक्त बनाएर दक्ष जनशक्तिमा परिणत गर्दैछौँ, शिक्षालाई जीवनसँग जोडेर जीवनयोपयोगी बनाउने प्राविधिक र ज्ञानमूलक शिक्षा नागरिकमा पुर्याउने काम गर्दैछौं ।’
उनले हाल ८८ प्रतिशतभन्दा बढी जनतामा विद्युत् पहुँच पुगिसकेको उल्लेख गर्दै अबको दुई वर्षभित्र बाँकी १२ प्रतिशतलाई विद्युत् सेवा पुर्याइसक्ने र स्मार्ट मिटर जडान गरिसक्ने बताए । प्रधानमन्त्री ओलीले भक्तपुर–बनेपा–धुलिखेल सडकलाई चौडा पार्ने काम थालिने पनि जानकारी दिए ।