बालुवाटारको सरकारी जग्गा अनियमितता प्रकरणमा अर्का पूर्वमन्त्रीसमेत छानबिनमा तानिएका छन् । ०६३ मा भूमिसुधार तथा व्यवस्थामन्त्री रहेका जगतबहादुर बोगटीको समेत त्यसमा संलग्नता भेटिएको हो ।
उनकै कार्यकालमा भूमिसुधार मन्त्रालयले नेपाल समरजंग कम्पनीको जग्गा टिकिन्छा गुठीमार्फत मोहीलाई दिने प्रक्रिया शुरु गरेको अनुसन्धानमा खुलेको छ । मन्त्री बोगटीले नै त्यससम्बन्धी टिप्पणी सदर गरेको मन्त्रिपरिषद्मा पेस गरेका थिए । तर, मन्त्रिपरिषद्मा छलफलकै क्रममा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार विघटन भएपछि निर्णय हुन पाएन । पछि डा बाबुराम भट्टराई नेतृत्वको सरकारले गुठीको नाममा लगेर मोहीलाई जग्गा दिएको थियो ।
बोगटी मन्त्री हुँदाकै निर्णयलाई आधार बनाएर पछि फेरि मन्त्रिपरिषद्मा त्यससम्बन्धी प्रस्ताव लगिएको भेटिएको छ । सोही आधारमा यसमा उनको समेत संलग्नता देखिएको सिआइबी स्रोत बताउँछ । बोगटी तत्कालीन नेकपा (माले)बाट भूमिसुधारमन्त्री भएका थिए । बोगटी मन्त्री हुँदा तयार भएको प्रस्तावलाई पछि चन्द्रदेव जोशी भूमिसुधारमन्त्री हुँदा मन्त्रिपरिषद्मा पेस भएको थियो ।
त्यतिवेला मन्त्रिपरिषद्बाट निर्णय गराई जग्गा गुठीको नाममा लगेर मोहीलाई दिइएको थियो । जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको छ । तीन रोपनी १२ आना जग्गा गुठीको नाममा लगेर नक्कली मोही खडा गरी भूमाफिया शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीले आफ्नो नाममा ल्याएका थिए ।