राजु लामिछाने
काठमाडौं, ६ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले २ वर्ष पूरा गरेलगत्तै मन्त्रिपरिषदमा व्यापक हेरफेको तयारीमा लागेका छन् । सोमबार मात्र पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई कानून मन्त्रालयको जिम्मेवारी दिएका ओलीले छिट्टै अन्य मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेको स्रोतको दाबी छ । सभामुखमा अग्नि सापकोटालाई सहमति गर्ने बेलै मन्त्री बनाउने आश्वसन दिइएकोले शिवमायालाई एक्लै मन्त्रिपरिषदमा समावेश गरिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
समाजवादी पार्टीले सरकार छाडेपछि शहरी विकास र कानुन मन्त्रालय खाली थिए । शिवमायालाई कानून मन्त्री बनाएपछि अब शहरी विकास मन्त्रालय खाली छ । शहरी विकासमा पूर्व माओवादीले पाउनुपर्ने प्रचण्डले अडान राखेको स्रोतको दाबी छ । ओलीले भने मन्त्रीमण्डल व्यापक परिमार्जन गर्नुपर्ने भएकोले कुन मन्त्रालय कसलाई भन्ने अहिले नै तोक्न नसकिने जवाफ दिएका थिए ।
को कसको जिम्मेवारी हुँदैछ हेरफेर ?
सरकारले २ वर्षमा जनताले अनुभूति गर्नेगरी कुनै राम्रो काम गर्न नसकेको भनेर चर्को आलोचना भएपछि प्रधानमन्त्री ओली मन्त्रीपरिषद्का सदस्यहरूको जिम्मेवारी हेरफेर गर्न लागिपरेका छन् । ओलीले प्रवक्तासमेत रहेका सञ्चार मन्त्री गोकुल बास्कोटालाई पर्यटनको जिम्मेवारी दिने तयारी गरेका छन् । गोकुलसँग अधिकांश पत्रकार रूष्ट रहेकोले प्रवक्ता तथा सञ्चारमन्त्रीको जिम्मेवारी योगेश भट्टराईलाई दिंदा पत्रकारहरुलाई सन्तुलनमा राख्न सक्ने ओलीको बुझाई छ ।
त्यसो त गोकुल भने पर्यटनमा भन्दा शहरी विकास मन्त्रालयमै रहने इच्छा ओलीसँग राखेको बताइएको छ । योगेश भने सञ्चारमा आउन राजी भएका छन् । यसअघि पनि पूर्व एमालेको प्रवक्ताको रूपमा कुशल कार्य गरेका उनले सरकारको प्रवक्ता भएर काम गर्न चाहेका थिए । यता अर्थमन्त्री युवराज खतिवडा राष्ट्रियसभाबाट विदा हुँदै गर्दा अब नयाँ अर्थमन्त्रीको समेत खोजी छ । उर्जामन्त्री वर्षमान पुनको पनि जिम्मेवारी हेरफेर गर्न ओलीले प्रचण्डसँग राय मागेका थिए ।
यी मन्त्रीहरूको पद छ धरापमा
ओलीले दोस्रो चरणको मन्त्रिपरिषद हेरफेरको तयारी गर्दैगर्दा केही मन्त्रीहरूले भने पदबाट हात धुन बाध्य हुने भएका छन् । स्रोतका अनुसार युवा खेलकुदमन्त्री जगत विश्वकर्मा, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, खानेपानी मन्त्री विना मगर र वनमन्त्री शक्ति बस्नेतलाई मन्त्रिपरिषद्बाट ओलीले विदाई गर्न चाहेको बुझिएको छ ।
नयाँ मन्त्रीमा जसको चर्चा छ
नयाँ मन्त्रीमा पूर्व एमाले खेमाबाट महेश बस्नेत, प्रेम आले र यज्ञराज सुनुवारको नाम चर्चामा छ । यता पूर्व माओवादीका तर्फबाट जनार्दन शर्मा, हरिबोल गजुरेल र पम्फा भूषाललाई प्रचण्डले मन्त्री बनाउन चाहेका छन् । यता राष्ट्रिय जनता पार्टी (राजपा) सरकारमा आउन चाहेमा उसलाई २ देखि ३ मन्त्रालयसम्म दिन ओली सकारात्मक छन् । राजपाले उपसभामुख लिएमा २ मन्त्रालय र उपसभामुख नलिएमा ३ मन्त्रालय दिनेगरी सरकारमा ल्याउने बारे राजपाका शीर्ष नेताहरूसँग छलफल चलिरहेको छ ।