वर्तमान सरकारका कारण लोकतन्त्र समाप्त हुने खतरा बढ्यो : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारका कारण नेपालमा लोकतन्त्र समाप्त हुने खतरा बढेको बताएका छन् । काठमाडौंमा मंगलबार भएको एक कार्यक्रममा पौडेलले वर्तमान सरकारले राज्यका सम्पूर्ण संवैधानिक निकायको डण्डा प्रयोग गरेकाले नेपालमा लोकतन्त्र समाप्त गर्ने खतरा बढेको बताएका हुन् ।

पौडेलले अख्तियार जस्तो निष्पक्ष हुनुपर्ने संस्था प्रभावित हुँदै गएपछि सरकारको दवाव त्यसमाथि पर्ने अवस्था भएपछि नेपालमा भ्रष्टाचार निवारण नहुने र लोकतन्त्र पनि संस्थागत हुन नसक्ने जिकिर गरे ।



अख्तियार दुरूपयोग अनुसन्धान आयोग पनि सरकारको कठपुतली बनेको आरोप लगाउँदै उनले भने ‘अख्तियार सरकारको हतियार बनेको छ । सरकारले जसका विरूद्ध अख्तियार प्रयोग गर्न चाहन्छ त्यसैका विरूद्धमा अख्तियार प्रयोग हुने अवस्थामा पुगेको छ । केही समयपछि सम्पत्ति सुद्धीकरण आयोगलाई पनि सरकारले अख्तियार प्रयोग गर्ने खतरा छ ।’

लोकतन्त्र कुनै पनि दल र व्यक्तिका कारण कमजोर नहुने भए पनि राज्य संयन्त्रभित्रको लोकतान्त्रिक प्रणालीलाई अगाडि बढाउने संरचना कमजोर बनाएपछि लोकतन्त्र कमजोर हुने उनको भनाई थियो । साथै, उनले ४८ प्रतिशत मत प्राप्त गरेर बनेको वर्तमान सरकारले संविधानको मर्म र भावनाअनुरूप लोकतन्त्रलाई आत्मसाथ गर्न किन सकिरहेको छैन ? भनी प्रश्नसमेत गरे ।

पौडेलले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार जोडिनुलाई कांग्रेसले प्रश्न गर्दैगर्दा गच्छदारलाई जोगाउनका निम्ति कांग्रेस लागेको आक्षेप मिडिया र सत्ताले लगाएको भन्दै त्यसको खण्डन गरे । उनले भने ‘के त्यो विषय विधिसँग जोडिएको विषय थिएन ? अख्तियारले जसका नाममा मुद्दा दर्ता गर्यो त्यो पूर्वाग्रही मानसिकताबाट गरिएको होइन ? अनि मन्त्रीमण्डलको एउटा सदस्य मन्त्रीमण्डलको अध्यक्षभन्दा बढी जिम्मेवार कसरी हुन सक्छ ?’

नेपलको कानुनमा सरकारी जग्गा व्यक्तिका नाममा गर्दा के सजाय हुन्छ भन्ने स्पष्ट उल्लेख गरिएको भन्दै पौडेलले सरकारी जग्गा आफ्नो नाममा गर्दा ‘मैले थाहा नपाई गरेँछु, फिर्ता गर्न तयार छु’ भन्दैमा कसैले पनि उन्मुक्ति पाउनु नहुने बताए ।

सम्बन्धित समाचार