त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ । त्रिवि कार्यकारी परिषदको मंगलबार बसेको बैठकले अर्को सूचना नआउन्जेलसम्मका लागि स्ववियू निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।
त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाका अनुसार स्ववियू चुनाव स्थगित भएको जानकारी दिए । ‘सबै विद्यार्थी संगठन एकमत हुन नसकेकाले स्ववियू चुनाव स्थगित भएको छ,’ थापाले भने । त्रिविले यसअघि क्याम्पसमा हाल रहेको स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल पूरा भएकाले नयाँ स्ववियू चुनाव फागुन १४ गते गर्ने निर्णय गरेको थियो।
निर्वाचन मिति तोकिए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आफूहरुसँग छलफल नगरी मिति तोकेको भन्दै असहमति जनाएको थियो। नेविसंघले स्ववियू निर्वाचन गराउन त्रिविको निर्वाचन समिति प्रमुख रहने रेक्टर पदमा पदपूर्ति गर्न माग गरेको थियो। रेक्टरको माग गर्दै नेविसंघ चुनावमा जानै नचाहेकोले त्रिविले स्थगित गरेको हो ।
सत्तारुढ नेकपाको बिद्यार्थी संगठन अनेरास्ववियूले भने फागुन १४ मै स्वबियू निर्वाचन हुनुपर्ने अडान राख्दै आएको थियो। तर त्रिविले अनेरास्ववियूको माग नसुनी निर्वाचन स्थगित गरेको हो ।