प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासका नतिजा देखिन थालेको बताएका छन् । आज ७० औं प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले आर्थिक-सामाजिक रूपान्तरणका लागि सरकार अग्रसर रहेको पनि बताए ।
पहिलो वर्षलाई आधार वर्षका रूपमा लिएको सरकारले त्यही आधारमा टेकेरै मुलुकलाई समृद्धको यात्रातर्फ अग्रसर गराएको प्रधानमन्त्री ओलीको भनाई थियो । नयाँ सरकार गठनपछि नेपालको परराष्ट्र सम्बन्धमा सुधार आएको बताएका प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल देखिन र सुनिन थालेको भन्दै खुसी पनि व्यक्त गरे ।
राष्ट्रको अभियानलाई अनुप्राणित गर्ने लक्ष्यको विजारोपण ७० वर्षअघि आजकै दिन भएको स्मरण प्रधानमन्त्री ओलीले गरे । उनले प्रजातन्त्र दिवसलाई औपचारिकता भन्दा पनि यथार्थपरक तरिकाले आत्मसाथ गर्न सक्नुपर्ने पनि बताए ।
मुलुकमा सामान्य परिवर्तन मात्र नभई राज्यप्रणाली नै परिवर्तन भएकाले यसमा अभ्यस्त हुन केही समय लाग्ने बताएका ओलीले अहिले नै विश्वपरिवेषमा नेपालको तुलना उपयुक्त नहुने तर्क गरे ।
उनले मुलुकलाई यो अवस्थासम्म ल्याइ पुर्याउन योगदान गर्ने ज्ञात-अज्ञात शहीदहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै बेरोजगारी, गरिबी र पछौटेपन अन्त्य गर्न आफ्नो सरकार तत्पर रहेको बताए ।