छलफलबिनै मन्त्री नियुक्त गरेपछि अप्ठेरोमा मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माघ २८ मा रामेश्वर फुँयाललाई भौतिक पूर्वाधारमन्त्री नियुक्त गर्ने निर्णय गरे । उक्त निर्णय गर्दा नेकपा वाग्मती प्रदेश इन्चार्जसमेत रहेकी नेत्री अष्टलक्ष्मी शाक्य र पार्टीको प्रदेश कमिटीलाई जानकारी दिइएको थिएन । फुँयाललाई मन्त्री बनाउने निर्णयबारे सुनेपछि इन्चार्ज शाक्यलगायतले आपत्ति जनाए र पार्टी केन्द्रलाई जानकारी गराए ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कुरा पुगेपछि फुयाँलको शपथग्रहण रोकियो तर छलफलबिनै फागुन ५ मा मुख्यमन्त्री पौडेलले शपथ गराए । प्रदेश इन्चार्जलाई थाहा नदिई, पार्टी कमिटी र संसदीय दलमा छलफल नगरी मन्त्री नियुक्ति गरेपछि अहिले पौडेल अप्ठेरोमा परेका छन् ।



संसदीय दलका अधिकांश सांसद, प्रदेश इन्चार्ज शाक्य, प्रदेश पार्टी कमिटीका अध्यक्ष नारायण दाहाललगायत नै पौडेलको कामप्रति असन्तुष्ट छन् । उनीहरुले मुख्यमन्त्री पार्टी कमिटीभन्दा बाहिरबाट र माथिको आदेशअनुसार एकलौटी चल्न थालेको भन्दै आपत्ति जनाइरहेका छन् ।

प्रदेशको नाम र राधानी तोक्ने विषयमा केन्द्रबाट निर्णय गराउन लबिइङ गरेकोमा पनि सांसद र प्रदेश कमिटीका नेताहरुले असन्तुष्टि जनाएका थिए । नाम वाग्मती र राजधानी हेटौँडा राख्ने निर्णयमा सांसदहरु सहमत नभएपछि केन्द्रले हस्तक्षेप गर्नुपरेको थियो, भनेर आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित समाचार