नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ फागुन ।
प्रमुख प्रतिक्षदल नेपाली कांग्रेसले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाको राजीनामा माग गर्दै राष्ट्रियसभाको बैठक अवरोध गरेको छ। विहीबार दिउसो बसेको संघीय संसदको राष्ट्रियसभा बैठकमा कांग्रेसले मन्त्री बाँस्कोटका विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने भन्दै संसद अवरोध गरेको हो ।
बैठक शुरु भएपछि संसदमा कांग्रेसका सांसद जितेन्द्र नारायण देवले भने ‘उहाँ सञ्चारमन्त्री मात्रै होइन, सरकारको प्रवक्ता पनि हुनुहुन्छ। प्रधानमन्त्रीको निकट पनि हुनुहुन्छ । उहाँजस्तो मन्त्रीले भ्रष्टाचार गर्ने गरी ठाडै कमिशनको कुरा गर्न मिल्छ कि मिल्दैन । यो अत्यन्तै आपत्तिजनक, भर्त्सनायोग्य र विरोधयोग्य छ ।’
यो घटनामा सरकार चुप लागेर बस्न नमिल्ने भन्दै सांसद देवले प्रधानमन्त्रीले अबिलम्ब मन्त्रीलाई बर्खास्त गर्नुपर्ने, यो घटनाको बारेमा तुरुन्त छानबिन समिति बन्नुपर्ने र यो घटना के हो, यसको बारेमा प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने तीनवटा मागसमेत राखे ।