नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ फागुन ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ । मन्त्री बाँस्कोटाले ७० करोडको कमिसन मागेको एउटा अडियो बाहिरिएपछि कांग्रेसले प्रतिनिधिसभाको विहीबार बसेको बैठक अवरोध गरेको छ ।
प्रतिनिधिसभाको बिहीबार दिउँसो एक बजे बस्ने भनिएको बैठक दुई घण्टा ढिलो गरी शुरु हुन भएको थियो । बैठकमा कांग्रेस सांसद पुष्पा भुसालले मन्त्री बाँस्कोटालाई बर्खास्त गरिनु पर्ने र मन्त्रीपरिषदकै सदस्य भएकाले यसको जिम्मेवारी प्रधानमन्त्रीले पनि लिनुपर्ने माग राखीन् ।
सांसद भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भन्ने गरेको आफू पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेको अनुहार पनि नहेर्ने भनेको कुराको स्मरण गराउँदै मन्त्री बाँस्कोटाले राजीनामा दिएर उन्मुक्ति दिन नहुने र छानबिन गरिनु पर्ने माग राखिन् । सांसद भुसालले बोलेपछि कांग्रेसका सांसदहरु उठेर बैठक अवरुद्ध गरिरहेपछि सभामुखले बैठक फागुन १३ गतेसम्मलाई स्थगित गरेका हुन् ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिइसकेको आफूलाई अनौपचिािरक जानकारी आएको बताउँदै बैठक सुचारु गर्न नेपाली कांग्रेसका सांसदहरुलाई आग्रह गरेको थिए ।
त्यसगरी सञ्चारमन्त्री गोकुल बास्कोटा घुस बार्गेनिङ्गमा संलग्न भएको अभियोग लागेपछि उनलाई तत्काल बर्खास्त गर्नु पर्ने माग गर्दै कांग्रेसले सो घटनालाई अत्यन्तै आपत्तिजनक, भर्त्सनायोग्य र विरोधयोग्य भएको भन्दै विहीबार बसेको राष्ट्रियसभा बैठक पनि अवरुद्ध गरेको थियो । एक स्वीस कम्पनीसँग सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्दा ७० करोडभन्दा बढी कमिसन आउँदा त्यसको ७० प्रतिशत आफूले पाउनु पर्ने भन्दै बार्गे्निङ्ग गरेको अडियो सार्वजनिक भएपछि मन्त्री बास्कोटा विवादमा तानिएका हुन् ।