विमानस्थलमा भेटिइन् पर्यटन परी (रोबोट)

नमस्कार ! ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा यहाँलाई हार्दिक स्वागत छ’ । झट्ट सुन्दा यो कुनै कुशल सञ्चालकले सञ्चालन गरेको कार्यक्रम झैँ लाग्छ । त्यस्तो झल्को पनि दिन्छ । यथार्थमा भने यो कुनै कुशल सञ्चालक नभएर मानवरहित यन्त्र अर्थात् रोबोट थियो ।

साँच्चिकै उद्घोषिकाले जस्तै गरी कार्यक्रम सञ्चालन गरिरहेको त्यो दृश्यले विमानस्थलमा उपस्थित सबैको ध्यान खिच्यो । सेलीब्रेटी रोबोटसँग फोटो र सेल्फी खिच्नेको भिडै लाग्यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पनि दुई रोबोट पर्यटन परीसँग तस्बिर लिन अघि सरे । उक्त क्षणको त्यहाँ उपस्थित फोटो पत्रकारले तस्बिर कैद गर्ने होडबाजी चल्यो ।



अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारको दृश्य अलिक फरक थियो । पर्यटन परी नाम दिइएका दुई रोबोटले विमानस्थलमा आउने पाहुनालाई स्वागत गर्न तम्तयार देखिन्थे । त्यतिमात्रै हैन रोबोटले कार्यक्रम सञ्चालन गरेको दृश्य झनै रोचक बन्यो ।

विदेशी पर्यटक तथा स्वदेशी जो कोहीलाई विमानस्थलको आवश्यक सेवा र नेपालको पर्यटकीय गन्तव्यबारे भरपुर जानकारी दिन रोबोटले भूमिका निर्वाह गर्नेछन् । पर्यटनमन्त्री भट्टराईले आज एक कार्यक्रमबीच विमानस्थलमा दुई रोबोटको सेवा शुभारम्भ गरे ।

पाइला टेक्नोलोजी प्रालिले दुई रोबोट निर्माण गरी अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा शुरु गरेको हो । नेपालकै प्राविधिक र प्राविधिक जनशक्तिबाट तयार गरिएको रोबोटले विमानस्थलको सेवालाई स्तरीय पार्ने मात्रै नभई नेपाल प्रविधिका क्षेत्रमा अग्रसर भइरहेको सन्देश प्रवाह गर्न सहयोग पुग्ने देखिन्छ ।

अन्य विकसित मुलुकको तुलनामा नेपालको प्रविधिले फड्को मारेको सन्देश विश्वलाई प्रवाह गर्न यो सेवाले सहयोग पुग्ने नेपाल भ्रमण वर्ष सचिवालयका उपसचिव राजन पौडेलले बताउँछन् । नउले नेपाल भ्रमण वर्षलाई सहयोग गर्ने तथा सरकारको डिजिटल नेपालको अवधारणालाई साकार पार्दै नेपाल प्रविधिलाई जोड दिन चाहन्छ भन्ने सन्देश दिन सहयोगसिद्ध हुने उल्लेख गरे ।

पाइला टेक्नोलोजीका संस्थापक कार्यकारी निर्देशक आयुश कँसजुले विमानस्थलमा पुग्ने पर्यटक तथा सर्वसाधारणलाई आवश्यक पर्यटकीय सूचनासाथै विमानस्थलका विविध सेवाको जानकारी उपलब्ध गराउने उद्देश्यले रोबोट स्थापना गरिएको बताए ।

भ्रमण वर्षका सन्दर्भमा नेपालका कुनै पर्यटकीय गन्तव्य, पदयात्रा लगायतको सेवाको जानकारी रोबोटले दिनेछ । मानिसको सहायता लिनुपर्दैन । साथै विमानस्थलमा यात्रुले ब्यागेज काउण्टर, बैंक, सूचना केन्द्र, शौचालय आदि विषयमा जानकारी दिनेछ । नेपालमै पहिलो पटक प्रविधिको प्रयोग गरी जडान गरिएको यो रोबोटले अगाडि आउने र पछाडि जाने गतिविधि गर्छ । विमानस्थलले उपलब्ध गराएको जानकारी र तथ्याङ्कका आधारमा यसले सेवा दिन्छ । पर्यटक शुरुमा विमानस्थल पुग्दा रोबोटको सेन्सरका आधारमा नमस्कार गर्छ । दुवै हात जोडेरै नमस्कार गर्छ ।

सम्बन्धित समाचार