मन्त्री पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटा झण्डावाल गाडी र अंगरक्षक प्रधानमन्त्रीनिवास बालुवाटारमै छाडेर घर फर्केका छन् । गाडीविहीन भएका बाँस्कोटालाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो गाडीमा राखेर बालकोट पुर्याएका छन् ।
काभ्रे पुर्ख्यौली थलो रहेका बास्कोटाको घर भक्तपुरमा छ । तर, मन्त्री बनेपछि उनी प्रधानमन्त्री केपी ओलीको बालकोटस्थित निवासमा बस्दै आएका छन् ।
सूचना तथा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको अडिओ बाहिरिएपछि मन्त्री बाँस्कोटामाथि प्रश्नै प्रश्न उठेका थिए । दिउँसो करिब तीन बजेतिर काठमाडौं पुगेको मन्त्री बाँस्कोटाले विमानस्थलबाट सिधै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार लागे । त्यसपछि करिब दिउँसो करिब ४ बजेतिर सम्माननीय प्रधानमन्त्रीसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराएका थिए ।