गृहमन्त्री रामबहादुर थापाले नेपालमा सञ्चालित सामाजिक संस्थामा आएको अनुदान रकमको नियमन नहुँदा विकृति बढेको बताएका छन् । गृहमन्त्री थापाले नेपालमा दर्ता भएका सामाजिक संस्थाले वार्षिक रु ५० अर्ब बढी विदेशी पूँजी भित्र्याउने गरे पनि उक्त रकमको उचित नियमन नहुँदा मुलुकको विकास, समृद्धि र सुधारमा असर पुगिरहेको जिकिर गरे ।
‘सामाजिक संस्थामार्फत आएको पैसा विकास र समृद्धिमा परिचालन भएको छैन, कतिपय बेला राजनीतिक हस्तक्षेपमा उक्त पूँजी परिचालन भएको देखिएको छ, अब नियमन गर्नुपर्छ, त्यसतर्फ मन्त्रालयको ध्यान गएको छ’, आजको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले उठाएको जिज्ञासामा मन्त्री थापाले भने ।
समितिमा रेडक्रसमा अनियमितना भएको भनी परेको उजुरीका विषयमा छलफल भएको थियो । उक्त विषयमा गृह मन्त्रालयले गरेका काम कारवाहीबारे जानकारी लिन गृहमन्त्री थापालाई बोलाइएको थियो । मन्त्री थापाले रेडक्रसको विषयमा कानूनी कारवाही अघि बढाएको जानकारी गराउँदै कानून निर्माण गरी त्यस्ता संस्थालाई नियमन गर्नुको विकल्प नभएको बताए । यस्ता सामाजिक संस्था जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषद्मा दर्ता हुने व्यवस्था छ ।
अनियमितताको विषयमा रेडक्रससहितका विभिन्न सामाजिक संस्थामाथि प्रश्न उठेको उनले बताए । संस्था दर्ता ऐन २०१६ बमोजिम विसं २०२१ मा दर्ता भएको नेपाल रेडक्रस संस्था दर्ता ऐन २०३४ जारी भएपछि पुनः दर्ता गरिएको थियो । उक्त संस्थामाथि आर्थिक हिनामिना गरेको आरोप छ ।