एमसीसीमा द्विविधा छैन, संसदबाट अनुमोदन हुन्छ : अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गत अमेरिकाबाट प्राप्त हुने अनुदानका विषयमा कुनै द्विविधा नरहेको बताएका छन् । अमेरिकाको कंग्रेसका सदस्यद्वय जर्ज होल्डिङ र अमी बेरासँग अर्थ मन्त्रालयमा विहीबार भएको भेटमा खतिवडाले यस्तो बताएका हुन् ।

अर्थमन्त्रीले एमसिसीअन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्विविधा नभएको उल्लेख गर्दै सो सहायता सम्झौता संसद्बाट अनुमोदन हुने विश्वाससमेत लिए । उनले नेपाल–अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषिजस्ता क्षेत्रमा निरन्तर रूपमा गर्दै आएको सहयोगका लागि धन्यवादसमेत दिए ।



भेटमा अर्थमन्त्रीले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराउँदै नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको बताए । नेपालमा उत्पादन भएका वस्तुको बजारका लागि समस्या नहुने बताउँदै अमेरिकी लगानीका लागि आग्रहसमेत गरे ।

सम्बन्धित समाचार