करोडौँको काण्डमा मुछिएका गोकुल बाँस्कोटाको यस्तो छ सम्पत्ति विवरण !

नेपालमै स्थापना गर्ने गरी रेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एक नेपाली एजेन्डसँग कमिसनको डिल गरेको आरोप लागेका निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री काभ्रेका एक मध्यम वर्गीय परिवारमा जन्मिएका हुन् ।

तत्कालिन एमाले निकट पत्रिकामा लामो समय आवद्ध भएका उनी पत्रकारिता हुँदै राजनीतिमा छलाङ मारेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास पात्र उनी ओलीकै आशिर्वादमा सांसदको टिकट पाएर सांसद हुँदै मन्त्री सम्म बन्न सफल भएका हुन् । राज्यमन्त्रीबाट ओली सरकारमा प्रवेश पाएका उनी त्यसको १४ महिनापछि मन्त्री बन्न सफल भएका थिए । यसो त केही अघि उनले सहरी विकास मन्त्रालयको समेत जिम्मेमवारी पाएका थिए ।



विपक्षीप्रति कडा प्रहार, सरकारमाथि हुने आलोचनाको खण्डन गर्ने कडा रक्षाकवज बनेका उनी आफ्नो कार्यकालभरी विवादै विवादले जेलिए । अझै ७० करोड बढीको आर्थिक कमिसनको अडियोले भने उनको राजनीतिमै दाग लाग्यो । उनी मन्त्री पद छाड्न बाध्य भइ सिंहदरबारबाट बाहिरिसकेका छन् ।

करोडौको आर्थिक कमिसनमा मुछिएका बाँस्कोटाको आर्थिक हैसियत सामान्य देखिन्छ । उनले मन्त्री भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको आर्थिक विवरणअनुसार उनको तारादेवी बास्कोटा (मानन्धर) को नाममा भक्तपुरको मध्यपुर ठिमीमा जग्गा र त्यही जग्गामा ४ कोठे एक तले घर रहेको छ । जुन पैत्रिक सम्पत्ति बेच्दा प्राप्त भएको रकम र स्वआचार्जनबाट जोडेका हुन् । यसबाहेक उनको काभ्रेमा पाखोबारीसहितको जग्गा रहेको छ । काभ्रेको बनेपामा ३ लाखमा ४ आना जग्गा किनेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै तारादेवीको नामा काभ्रेको देवभूमिमा २ रोपनी पाखोबारी रहेको छ भने बुबा हरिप्रसाद बाँस्कोटाको नाममा नयाँ गाउँदेउपुरमा पैत्रिक सम्पत्ति रहेको छ ।

यस्तै १७ तोला सुन र ६० तोला चाँदी रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै ब्राइट बचत तथा ऋण सहकारी संस्थामा आफ्नै नाममा ९९ हजार ९४१ रुपैयाँ र इन्भेस्टमेन्ट बैंकमा १ लाख ९ हजार ९४३ रुपैयाँ, तारादेवीको नाममा एक सहकारीमा ३ लाख ३८ हजार ३२६ रुपैयाँ र कुमरी बैंकमा ११ हजार रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यसबाहेक समिर बाँस्कोटाको नाममा नबिल बैंकमा १५ लाख र शुलभ बाँस्कोटाको नाममा इन्भेस्टमेन्ट बैंकमा १६ हजार १०० रुपैयाँ रहेको उल्लेख छ । त्यसमा पनि छोरा समिरलाई विदेश पठाउनको लागि १५ लाख कुवेर सापकोटा र विष्णु खनालसँग १५ लाख ऋण लिएको बाँस्कोटाको भनाइ छ ।

यस्तै प्राइम बचत तथा ऋण सहकारीमा गोकुलकै नाममा १ हजार कित्ता सेयर रहेको देखिएको छ । सवारी साधन केही पनि नरहेको, कृषिधन तथा पशुधन केही पनि नभएको बाँस्कोटाले बताएका छन् भने घरमा सामसुङको टिभी रहेको बताएका छन् ।

आइफोन एउटा र ल्यापटप ३ वटा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । केही समय अगाडी उनले आईफोन सामसुङ कम्पनिको भनेर लेखेका कारण सामाजिक सञ्जालमा भाईरल भएको थियो ।

सम्बन्धित समाचार