सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा सार्वजनिक भएको गोकुल बाँस्कोटाको अडियो प्रकरणमा सरकारले अनुसन्धान गर्ने बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी विषय जिटुजी सम्झौताबाट मात्र गर्ने भनिए पनि विना ग्लोबल टेण्डर नगरेर कुनै कम्पनीसँग सम्झौता गरेर जाने खालको देखिनु र यहीबीच मन्त्रीको अडियो बाहिरिनुले प्रश्न उठेको उनले बताए । यो विषयमा संसदको सार्वजनिक लेखा समितिले छानविन गरिरहेको र त्यसको प्रतिवेदन अनुसार हुने उनको भनाइ थियो । मन्त्रीले भ्रष्टाचार गरे नगरेको कानूनी छानविन गर्न सरकार दृढ भएको र अख्तियारले छानविन गर्ने उनले स्पष्ट पारे ।
अर्को प्रसंगमा नेता गुरुङले पार्टीको केन्द्रीय कमिटीले गठन गरेको कार्यदलले एमसिसीका विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको र एमससिीका सर्तहरुमा परिमार्जन गरेर मात्र जाने सुझाव दिएकाले पार्टीले छिट्टै निर्णय गर्ने जानकारी दिए । सरकारले एमसिसीलाई निरन्तरता दिने प्रतिकृया प्रधानमन्त्री ओलीले दिए पनि पार्टीको निर्णय नै अन्तिम हुने बताए ।