प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउन आज जन्मथलो, तेह्रथुमको आठराई गाउँपालिका जाने भएका छन् । ओली हेलिकोप्टरमार्फत् आठराइ, सल्ले जान लागेको प्रधानम्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । आज प्रधानमन्त्रीको ओलीको ६९ औं जन्मदिन हो । उनको जन्म २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा भएको हो ।
उनी आज विहान त्यसतर्फ प्रस्थान गर्ने सल्लाहकार थापाले जानकारी दिए । मिर्गौला प्रत्यारोपणपूर्व जन्मथलो जाने ईच्छा भएपछि पुख्रैयौली घर रहेको स्थानमा आफ्नै खर्चमा हेलिप्याडसमेत बनाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । पुख्यौली घरजग्गालाई ट्रष्टको रूपमा विकास गर्ने ओलीको योजना छ ।
आफ्नो घरजग्गामा प्राविधिक शिक्षालय खोल्ने समेत ओलीको इच्छा रहेको बताइएको छ । साविक आठराइ गाविसमा जन्मिएका ओली सानैमा झापा झरेका थिए।
आठराईमा सार्वजनिक बिदा
ओलीको जन्म दिन मनाउन उनको पुर्ख्यौली गाउँ तेह्रथुमको आठराईमा आइतवारका लागि सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुका अनुसार आफ्नो ६९ औँ जन्मदिन मनाउन प्रधानमन्त्री ओली आजै हेलिकोप्टरबाट आठराईको सल्लेस्थित पुर्ख्यौली घर पुग्दैछन् । तेह्रथुमबाट बसाइँ सरेर झापा गएपछि विक्री गरेको पुर्ख्यौली घर ओलीले पुन: किनेर मर्मत गराइसकेका छन्।
ुप्रधानमन्त्री जन्मदिन मनाउन आउने भएपछि गाउँपालिकामा आइतबारका लागि स्थानीय बिदा दिएका छौं,’अध्यक्ष लिम्बूले भने। प्रधानमन्त्री आउने भएपछि आठराईका विभिन्न चोकमा स्वागतद्वार बनाइएको छ। सल्लेको इवास्थित जन्मघरबाट आइतवार प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।