वामदेवलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने तयारी

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधन गरेर भए पनि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने ‘गृहकार्य’ थालेको छ । शनिबार बसेको नेकपा सचिवालयको बैठकले संविधान संशोधनको लागि कार्यदल गठन गरेको छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र कानुनविद् तथा केन्द्रीय सदस्य खिमलाल देवकोटा रहेको ३ सदस्यीय कार्यदल गठन गरेको हो ।

नेकपाले वामदेवलाई नै प्रधानमन्त्री बनाउन बाटो फुकाउने गरी प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यको हैसियत एकै बनाउन संविधान संशोधन गर्न लागेको छ । संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्ने र वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने तयारी भएको स्रोतले जानकारी दिएको छ ।



नेकपाको सचिवालय बैठकले माधव नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलले संविधानमा भएको मौजुदा व्यवस्था अध्ययन गर्नेछ । विभिन्न राजनीतिक दलसँग पनि परामर्श गरेर सुझाव प्रस्तुत गर्ने छ ।

संविधानको धारा ७६ (१)मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र उसकै अध्यक्षतामा मन्त्रिपरिषद गठन हुने व्यवस्था छ । कार्यदलले यो व्यवस्था परिवर्तन गरी राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने र तल्लो (प्रतिनिधिसभा) र माथिल्लो सदनका सदस्यहरूको हैसियत बराबर बनाउन गृहकार्य गर्ने स्रोतले जानकारी दियो ।

सम्बन्धित समाचार