बागमती प्रदेशसभाको विशेष समयमा सेक्युरिटी प्रेसकाण्डको विषयलाई प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएको छ । प्रतिपक्ष दलका सांसदले सरकारको आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । आइतबारको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद दीपेन्द्र श्रेष्ठले संस्थागत भ्रष्टाचारमा सरकार लागेको भन्दै सरकारकै अग्रसरतामा भ्रष्टाचार भएको कुरा जगजायर भएको बताए ।
उनले प्रधानमन्त्रीकै संलग्नतामा भ्रष्टाचार भएको देखिएकोले राजीनामा दिनुपर्ने बताएका हुन् । श्रेष्ठले ललिता निवास प्रकरणमा अख्तियार पूर्वाग्राही ढंगले अगाडि बढेको समेत बताए । सरकारले अख्तियारलाई संवैधानिक आयोगभन्दा पनि आफ्नो छायामा पारेको आरोप लगाएका हुन् । यस्तै, कांग्रेसकै सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीबाट नै सेक्युरिटी प्रेसकाण्डको छानबिन सुरु गर्नुपर्ने भन्दै प्रधानमन्त्रीको सल्लाहविना यती ठूलो काण्ड हुन नसक्ने बताए ।
विवेकशीलका सांसद रमेश पौड्यालले नैतिकताको आधारमा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा दिनु मजाक भएको भन्दै अनैतिकताको राजीनामा कस्तो हुने भन्दै प्रश्न गरे । नैतिकता प्रश्नको सियो प्रधानमन्त्रीतर्फ तेर्सिएको बताए । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घलेले भने सरकार काण्डै काण्डमा अल्झिएको बताइन् ।
प्रमुख सचेतक घलेले निर्वतमान मन्त्री बाँस्कोटाको निश्पक्ष रूपमा छानबिन हुन्छ की हुँदैन भन्दै प्रश्न पनि गरिन् । प्रदेश सरकार गफ मात्रै गरिरहेको आरोप लगाउँदै उनले बजेट खर्च किन गर्न नसकेको प्रश्न गरिन् ।
यस्तै, राप्रपा संयुक्तकी प्रदेशसभा सदस्य रीना गुरुङले गोकुल बाँस्कोटा प्रकरण जस्तै काण्ड बागमती प्रदेशमा देख्न नपरोस भन्दै बागमती प्रदेश सरकार पनि पारदर्शी हुनु पर्ने बताइन्। उनले मन्त्रिपरिषद् विस्तार भएता पनि महिला मन्त्री हुन नसकेको प्रति खेद् प्रकट गरिन् ।