राजु लामिछाने
काठमाडौं, १२ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी छ। भेटवार्ता १० बजेदेखि शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।
नेकपाको शनिबार सम्पन्न स्थायी कमिटी बैठकले संविधान संशोधनका लागि कार्यदल बनाएपछि त्यसको यतिबेला चौतर्फी विरोध भैरहेको छ । अध्यक्षद्वयको भेटवार्ता सोही विषयमा केन्द्रित रहने बताइएको छ।
साथै ओली र प्रचण्डबीच पछिल्लो समय मन्त्रिमण्डल पुनर्गठनका विषयमा पनि निरन्तर छलफल भैरहेको छ । आजको भेटमा विषेशगरी सञ्चारमन्त्रीको खोजी हुने बालुवाटार स्रोतले जानकारी दिएको छ । सञ्चार र शहरी विकास मन्त्रालय खाली रहेकोले दुई मन्त्री तत्काल टुङ्याउन ओली र प्रचण्ड सहमत भएका छन् ।
पूर्वएमालेबाट सञ्चार र पूर्व माओवादीबाट शहरीविकास मन्त्रीको खोजी भएरहेको छ । जस्मा पूर्व एमालेबाट डा बेदुराम भूषाल र खगराज अधिकारीको चर्चा छ भने पूर्व माओवादीबाट पम्फा भूषाल र हरिवोल गजुरेलको नाम चर्चामा छ ।