अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दुई दिने राजकीय भ्रमणका लागि सोमबार भारत आइपुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पलाई अहमदाबाद एयरपोर्टमा स्वागत गरे । पत्नी मेलानिया र छोरी इवांकाका साथ भारत भ्रमणमा आएका ट्रम्पको सुरक्षाका लागि भारत सरकारले विशेष व्यवस्था गरेको छ ।
ट्रम्पको सुरक्षाका लागि मात्रै प्रत्यक्ष रुपमा १ लाखको हाराहारीमा सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ । ट्रम्पको भ्रमणका दौरान सुरक्षा व्यवस्थापनमा मात्रै भारत सरकारले १ अर्ब भारतीय रुपैयाँ भन्दा बढी खर्च हुने जनाएको छ ।
सुन्दा अचम्म लाग्ला, ट्रम्पको सुरक्षाका लागि आधुनिक हतियारले सु–सज्जित सुरक्षाकर्मी मात्रै हैन, लंगुर (ढेडु) पनि परिचालन हुनेछन् । भारत सरकारले राष्ट्रपति ट्रम्पको सुरक्षाका लागि ५ वटा लंगुर परिचालन गर्ने भएको छ ।
ट्रम्पले आग्रास्थित ताजमहलको भ्रमण (अवलोकन) गर्ने क्रममा ती लंगुरहरुलाई परिचालन गरिने जनाइएको छ । भारतको आग्रा शहर देशकै सबैभन्दा बढी बाँदर आतंक हुने ठाउँको रुपमा चिनिन्छ । ताज महलमा पनि बाँदरले उत्पात मच्चाउने गर्छन् ।
तिनै बाँदरका कारण उत्पन्न हुने सुरक्षा चुनौतीको सामना गर्न भारत सरकारले ५ वटा लंगुरलाई सुरक्षाका लागि परिचालन गर्न लागेको हो । लंगुरलाई देखेपछि बाँदरहरु भाग्ने गर्छन् । ठूलो संख्यामा मानवीय जनशक्ति परिचालन गर्दा पनि बाँदर भगाउन नसकिएपछि सरकारले लंगुर परिचालन गरेको हो ।