नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ फागुन ।
केही दिनअघि मात्र गोकुल बाँस्कोटाको अडियो प्रकरणलाई लिएर विवादित बनेका प्रधानमन्त्री केपी शर्मा ओली फेरि अर्को विवादमा परेका छन् । त्यो हो प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औं जन्मदिनमा काटिएको केक ।
उनले आफ्नो जन्मदिन मनाउदा आफंैले बनाएको नेकपा पार्टीको आचारसंहितासमेत उलङ्घन गरेको भन्दै नेकपाकै कतिपय कार्यकर्ताले आक्रोस पोखेका छन् । नेकपाले जारी गरेको आचारसंहितामा ‘छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ’, उल्लेख गरिएको छ । तर प्रधानमन्त्री विवादित बन्नुको कारण यतिमा मात्र सीमित रहेन । योसँगै जोडिएर आयो उनको जन्मदिनको केक । जुन केक नेपालको नक्साको आकारमा बनाइएको थियो । जसले सामाजिक सञ्जाललाई क्षणभरमै तताइदियो ।
प्रधानमन्त्री ओलीले आइतबार आफ्नो ६९औं जन्मदिन मनाए । बिहान प्रधानमन्त्री निवासमै केक काटेर जन्मदिन मनाएका प्रधानमन्त्री ओली दिउँसो मन्त्री, सरकारी अधिकारी, नेता कार्यकर्ताको लावालस्कर लगाएर चारवटा हेलिकप्टरमा आफ्नो जन्मस्थान तेह्रथुमको आठराईमा पुगेर १५ किलोको केक काटेर जन्मदिन मनाए । ओलीको जन्मोत्सव मनाउन आठराई गाउँपालिकाले सार्वजनिक बिदासमेत दिएको थियो ।
जन्मदिनको अवसरमा दिनभर शुभकामना पाइरहेका प्रधानमन्त्रीले साँझपखदेखि आलोचना खेप्नु पर्यो । केकलाई लिएर सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुबैथरी प्रतिक्रियाहरू देखिएका छन् ।
केकका विषयमा कसले के लेखे ?
रवीन्द्र मिश्रः जनतालाई हेप्नी ? प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना ! तर गाउँको गरिबी, आम जनभावना, समाजवादी र साम्यवादी सोच, देशभक्ती सबैको उपहास भयो । अविकास, कुशासन, काण्डैकाण्डको पीडा त छँदैछ । ‘गर्छौ पाप, खोज्छौ स्वर्ग, जान्दैनौ कर्मको गति, रिट्ठाको बोट रोपेर कहाँ फल्छ र कागती ।’
रामहरी खतिवडाः देशको नक्सा भएको केक काटेर जन्म दिन मनाउन प्रम ओली हेलिमा तेह्रथुम पुग्नु भएछ । देशको नक्सा काटेकोमा वहाँलाई आनन्द लागेको होला । तर यो दृश्यलाई सबैले राम्रो मानेनन् । जन्म दिनको शुभकामना, प्रमज्यू ।
चन्द्र भण्डारीः जनताले भोकमा भुटेका मकै र ज्वरोमा सिटामोल पाएका छैनन् । छोरा छोरी विदेशका विभिन्न ठाँउमा आफ्नो शरीर रेमिटान्ससँग साटेका छन् । पशुपतिमा लाशको विदेशी बाकस नआएको दिन छैन । त्यस देशका प्रधानमन्त्रीलाई हेलिकप्टर चार्टर्ड गरी देशको नक्सा भएको केक काट्ने कसले सुझाव दियो ? लाज लाग्दैन ?
ऐन महरः विद्धान मित्रहरू ! जन्मदिनको केकमा आफूलाई सबैभन्दा मनपर्ने र आफुले सबैभन्दा माया गर्ने चिज लेखिन्छ राखिन्छ ।
रेखा थापाः नियतबस् नहोला तर लक्षण गतिलो छैन । छातीमा देशको जिम्मेवारीको बिल्ला र हातले देशको नक्सा काटेको देख्दा अचम्म लाग्यो । देशको प्रधानमन्त्रीको अनुहारमा पनि सन्देश हुन्छ, तर यो केक काटाइको सन्देश बुझिएन ।
सूर्यराज आचार्यः प्रमज्यू, ‘बर्थडे केक’ को तस्वीर विद्रुप लाग्यो । प्रमको मर्यादा र यहाँको राजनीतिक व्यक्तित्वलाई यो दृश्यले न्याय गरेन । प्रतिकात्मक अर्थ के बुझेर यस्तो केक बन्यो थाहा भएन । १९९८ मा रूसमा चैँ कम्युनिस्ट शासनको अन्त्य मनाउन लेनिनको आकृतिको केक काटिएको थियो ।