मतदातालाई भेट्न दाङ पुगेका महराले भने- ‘षडयन्त्रकारीको भुमरीलाई जितेर आएँ’

पूर्वसभामुख कृष्णबहादुर महरा अदालतबाट सफाइ पाएपछि मतदातासँग भेटघाट गर्न दाङ पुगेका छन् । दाङ निर्वाचन क्षेत्र नम्बर २ का मतदातासँग भेटघाट गर्दै उनले आफू षडयन्त्रकारीको भुमरीलाई जितेर आएको बताए । महरालाई जिल्लाको प्रवेशद्वार भालुबाङ, लमही, घोराहीलगायतका स्थानमा मतदाताले भव्य स्वागत गरेका थिए ।

मतदाताले भव्य स्वागत गरेपछि महरा निकै प्रफुल्लितसमेत देखिन्थे । विभिन्न ठाउँँमा आयोजना गरिएका स्वागत कार्यक्रमहरूमा महराले थोरै मात्र बोले । हरेक स्थानमा उनले पाँच मिनेटभन्दा बढी बोलेनन् ।



तीन महिना जेलमा बिताएर आएका महराले आफूमाथि लागेको आरोपका विषयमा आन्तरिक कुरा खोल्लान् भन्ने जनअपेक्षा रहे पनि उनले त्यस विषयमा खासै मुख खोलेनन् । घोराहीमा मतदाताहरूलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई षडयन्त्रकारीहरूले भुमरीमा पार्न खोजेका छन् । तर म अहिले त्यो भुमरी जितेर आएको छु ।’ उनले आफूलाई जनताको अपार माया रहेको भन्दै जनताको तागतको अगाडि कसैको केही नलाग्ने बताए ।

एमसीसीसँग जोडिएको विषयमा भने उनले सांकेतिक रूपमा राष्ट्रिय स्वाधिनताका विषयमा आफू जहिले पनि लड्ने बताए । ‘म राष्ट्रियताका लागि हिजो पनि लडें, आज पनि लड्दै छु र भोलि पनि लड्नेछु,’ उनले भने, ‘यस विषयमा कुनै पनि किसिमको सम्झौता गर्दिनँ ।’

सम्बन्धित समाचार