नोभेम्बरको अन्त्यमा चीनको हुबेईस्थित वुहान सहरबाट फैलिएको कोरोना भाइरस अहिले ३० भन्दा बढी देशमा फैलिएको छ । पछिल्लो समयमा चीनमा संक्रमण र मृत्यु दर घटिरहेको छ भने एसियाली मुलुक दक्षिण कोरियामा निरन्तर बढिरहेको छ । इटाली, जापान, सिंगापुर, इरान र हङकङमा पनि कोरोना संक्रमितको दर बढिरहेको छ ।
पछिल्लो एक सातादेखि संक्रमितको संख्या निरन्तर बढेको दक्षिण कोरियामा सोमबार थप दुई सय ३१ संक्रमित देखिएका छन् । यससँगै दक्षिण कोरियामा कोराना संक्रमितको संख्या आठ सय ३३ पुगेको छ । दक्षिण कोरियामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । सोमबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
इटालीमा कोरोना भाइरसको संक्रमणबाट सोमबारसम्म चारजनाको मृत्यु भएको छ । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लोपटक एक ८४ वर्षका वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो । लोम्बार्डीमै यसअघि अन्य तीनजनाको कोरोनाबाट मृत्यु भइसकेको छ । कोरोना संक्रमितको संख्या बढेपछि इटाली सरकारले लोम्बार्डी भेनिटोका एक दर्जन सहरलाई क्वारेन्टाइनको अवस्थामा राखेको छ ।
ती सहरको आवतजावत ठप्प छ । स्थानीय अधिकारीले बार रेस्टुरेन्ट र डिस्को बन्द गर्न आदेश दिएका छन् । इटालीमा सोमबार कोरोनाबाट थप ६७ संक्रमित भएका छन् । यससँगै इटालीमा कोरोना संक्रमितको संख्या २२४ पुगेको छ ।
चीनमा भने २,५९३ जनाले ज्यान गुमाइसकेका छन् भने ७७,३४५ संक्रमित रहेका छन् ।