महरालाई बलात्कारको आरोप लगाउने रोशनी शाही आफ्नो नियमित काममा फर्किइन्

पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मुद्दाकी पीडित भनिएकी महिला नियमित काममा फर्किएकी छन् । संघीय संसद सचिवालयमा कार्यरत रोशनी शाही लामो समयपछि सोमबारदेखि नियमित काममा फर्किएकी हुन् ।

गत असोज १३ गते पूर्व सभामुख महरासँग ‘पारिवारिक सम्बन्ध’ रहेको बताउने शाहीमाथि महराले जबरजस्ती करणी प्रयास गरेको विषय सार्वजनिक भएको थियो ।



पछि पीडित भनिएकी रोशनीकै उजुरीका आधारमा प्रहरीले महराविरुद्ध मुद्दा दर्ता गरी पक्राउ गरेको थियो । सोही प्रकरणमा करिब ३० दिन प्रहरी हिरासत र १ सय ३ दिन पुर्पक्षका लागि थुनामा बसेका महरालाई जिल्ला अदालत काठमाडौंले निर्दोष ठहर गरेको थियो ।

महरा निर्दोष ठहर भएसँगै प्रतिनिधिसभाको सदस्यका रुपमा उनीमाथि लागेको निलम्बन पनि फुकुवा भइसकेको छ । यद्यपि महरा भने संसद बैठकमा उपस्थित भएका छैनन् ।

महरा हाल आफ्नो निर्वाचन क्षेत्र दाङको भ्रमणमा छन् ।

सम्बन्धित समाचार