महेश कठायत
काठमाडौं, १३ फागुन ।
प्रमुख विपक्षीदल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टीको स्वास्थ्यको लागि र सिङ्गो देशको स्वास्थ्यको लागि स्वास्थ्य लाभ लिन आग्रह गरेका छन् । मङगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले यस्तो आग्रह गरेका हुन् ।
संसदमा बोल्दै उनले भने ‘पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा र विजयकुमार मिश्रबीचको घुस लेनदेनको अडियो हामीले पनि सुन्यौं । यो वार्तालाप प्रधानमन्त्रीज्यूले केही महिनाअघि नै सुन्नु भएको थियो भन्ने अनुमान मात्र होइन, दाबीहरू सञ्चारमाध्यममा छापिएका छन् । यसको बारेमा संसदमा आएर आखाँमा आखाँ जुधाएर नागरिक र हाम्रा प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्रीज्यूसँग छ कि छैन ?’
संसदबाट प्रधानमन्त्रीको ध्यानकर्षण मात्र गर्न नहुने भन्दै थापाले भने ‘सम्माननीय प्रधानमन्त्रीज्यू डाँडाकाँडा डुलेर बस्ने होइन । तालतलैया हेरेर बस्ने होइन । सदनमा आउनु पर्छ, यहाँ उभिनु पर्छ । हाम्रो प्रश्नको सामना गर्नु पर्छ । हामी यहाँ बसेर उहाँलाई निम्छरो होइन, सही प्रश्नहरू सोध्नेछाैं । ’
सांसद थापाले प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुनका लागि रूलिङ गर्न सभामुखलाई आग्रहसमेत गरे । प्रधानमन्त्रीको भनाइका आधारमा काभ्रेले आजसम्म जन्माएको सर्वाधिक प्रतिभाशाली प्रधानमन्त्रीका प्रवक्ताले गर्नु भएका कुराहरू प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याइदिनु पर्ने भन्दै थापाले प्रश्नसमेत गरे । उनले भने ‘सेक्युरिटी प्रिन्टिङको मात्र कुरा होइन, स्याटलाइटके ठेक्का, फोरजीको ठेक्का, अप्टिकल फाइवरको ठेक्का, यी सबै ठेक्काको बारेमा प्रधानमन्त्रीजीलाई थाहा थियो । परिस्थिति नियन्त्रण बाहिर गइसकेपछि गोकुल बाँस्कोटालाई बलिको बोका बनाइयो भनेर नागरिकहरू भनिरहेका छन् ।’
‘भ्रष्टाचारीको अनुहार हेर्दिन भनेर बारम्बार दोहोर्याने प्रधानमन्त्रीलाई नागरिकले बालुवाटारमा ऐना छ कि छैन भनेर प्रश्न गरिरहेका छन्’ उनले भने । उनले थपे ‘तपाईका पार्टीका कार्यकर्ता ठूलो स्वरमा बोल्न सक्दैनन् । तर कहिले काहीं हामीलाई झिनो स्वरमा कानेखुसी गर्दै भन्छन्– हाम्रो प्रधानमन्त्री पहिले पहिले माक्सवादी जस्तो देखिनु हुन्थ्यो, बीचमा समाजवादी जस्तो देखिन थाल्नुभो, आजभोलि यताबाट हेरे पनि उताबाट हेरे पनि यतीवादी मात्र देखिनुहुन्छ । नेकपाकै बैठकमा एकजनालाई प्रधानमन्त्री बनाउने कुरालाई लिएर संविधान संशोधन गर्ने कार्यदल बनाउने विषयमा तपाई कमजोर देखिनु भयो । यो देखेर बाहिर के भन्दैछन् थाहा छ ? देखिँदाखेरि सुरो तर यथार्थमा बिचरो रे !’