नेपाल ट्रस्टको श्वेतपत्र: जुन जोगी आए पनि कानै चिरेका

उपप्रधानमन्त्री ईश्वर पोखरेलले गोकर्णको जग्गा थप २५ वर्ष यतीलाई भाडामा दिने मन्त्रिपरिषद्को निर्णयको बचाउ गर्दै नेपाल ट्रस्टको तर्फबाट श्वेतपत्र जारी गरे । श्वेतपत्रमा पूर्व प्रधानमन्त्रीहरु सुशील कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र डा.बाबुराम भट्टराईका पालामा विभिन्न स्थानका जग्गामा लिज सम्झौता भएको उल्लेख छ । यससँगै श्वेतपत्रमार्फत ४ जना पूर्वप्रधानमन्त्रीलाई बिटुल्याउने काम पनि भएको छ ।

ओली सरकारले ४ जना पूर्वप्रधानमन्त्रीलाई दोषी देखाउँदै दोषी आफूहरू मात्र नभएको भान गराउने प्रयास गरेको देखिन्छ । मंगलबार पत्रकार सम्मेलन गर्दै ट्रष्टका अध्यक्षसमेत रहेका पोखरेलले भने ‘विभिन्न स्थानका जग्गामा लिज सम्झौता यसअघिका सरकारले पनि गरेको थियो । अहिले सबै काम पारदर्शी रूपमा भएका छन्, गोकर्ण रिर्सोटको म्याद अवधि पनि यसैगरी थप भएको हो ।’ विगतमा पनि यतीले जग्गा लिजमा पाएको भन्दै यसपालि पाउनु पनि अनौठो नभएकोे उनको दाबी छ ।



यतीलाई गोकर्णको जग्गा लिज हस्तान्तरण गर्दा प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री वामदेव गौतम सहभागी थिए भन्ने श्वेतपत्रमा उल्लेख छ । त्यस्तै, ट्रस्टको स्वामित्वमा रहेको दरबारमार्गको एक रोपनी १४ आना जग्गा भाडामा लगाउने प्रस्ताव स्वीकृत हुँदा ट्रस्टको संरक्षकमा पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधि अध्यक्ष रहेको श्वेतपत्रमा उल्लेख छ ।

त्यसअघि पूर्वप्रधानमन्त्री सुशील कोइराला नै संरक्षक र वामदेव गौतम सञ्चालक समिति अध्यक्ष हुँदा २८ साउन ०७१ को बोर्ड बैठकले कमलादी, हेटौँडा, ताहाचल सोल्टी आउटर कम्प्लेक्स र दरबारमार्गको जग्गा लिज आउट गर्ने गरी वार्षिक कार्यक्रम र बजेट स्वीकृत गरेको पनि श्वेतपत्रमा उल्लेख छ ।

शेरबहादुर देउवा ट्रस्टको संरक्षक र जनार्दन शर्मा सञ्चालक समिति अध्यक्ष हुँदा काठमाडौं महानगरपालिका–१३ स्थित सोल्टी आउटर कम्प्लेक्सको कित्ता नं १८, १९ र २० को लिज सम्झौता भएको पनि श्वेतपत्रमा समेटिएको छ ।

तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले व्यक्तिको नाममा दिएको काठमाडौंको १७२ रोपनी १५ आना जग्गा फिर्ता ल्याउन नेपाल ट्रस्टको कार्यालयले माग गरेको छ ।

नेपाल ट्रस्टको एक सय ७३ रोपनी जग्गा व्यक्तिका नाममा लैजाने निर्णय गरेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मोही र जोताहा किसानले जग्गा पाएकोमा आफूलाई गर्व लागेको बताएका छन् । मंगलबार मातातीर्थस्थित जग्गाको स्थलगत निरीक्षण गरेका उनले स्थानीयसँगको छलफलमा यस्तो बताएका हुन् ।

सरकारले भूमाफियालाई सुम्पिने कुत्सित मनसायले मातातीर्थको जग्गाबारे असान्दर्भिक प्रसङ्ग उछालेको आरोप भट्टराईको छ  ।
राजा–महाराजाले सित्तैमा ओगटेको जग्गा आफूले छानबिन गरेर औपचारिक रूपमा मोही र जोताहाको नाममा गरिदिएर न्याय गरेको बताए । यस प्रकरणबारे डा.भट्टराईले आज संसदमा विस्तृतमा जानकारी गराउने कार्यक्रम छ । दरबारले त्यागेर रैतीलाई दिएको जग्गा सरकारले लुट्न खोजेको भन्दै एक स्थानीयले आक्रोश पोखेका छन् ।

ट्रष्टको नाममा देशभर २१ हजार ५ सय ६२ रोपनी ४ आनाभन्दा धेरै जग्गा रहेको पोखरेलले जानकारी दिएको छ । पोखरेलले १२ वटा जिल्लामा ट्रष्टको नाममा सम्पत्ति रहेको बताए । नेपाल ट्रष्टको नाममा रहेको मध्ये काठमाडौका ६ स्थानमा लिजमा दिइएको उनले बताए । गोकर्ण फरेष्ट रिर्सोट, दरबारमार्ग, कमलादी, टेकु र कमलादीको घर तथा जग्गा लिजमा दिइएको उनले बताए । यो दरबारले दिएको र हाल थप गर्ने कार्य केहीमा भएको उनले बताए ।

ट्रष्टका नाममा ७८ करोड नेपाली रुपैयाँ, अमेरिकी डलर १ लाख ४८ हजार र बेलायती पाउन्ड ५० हजार चल सम्पत्ति रहेको समेत उनले जानकारी दिए । यसका साथै केही होटलमा शेयर पनि रहेको उनले बताए । ट्रष्टको सम्पत्ति अब स्वास्थ्य शिक्षा र पर्यटन क्षेत्रमा लगाउने पोखरेलको भनाइ थियो ।

सम्बन्धित समाचार