नौ महिनामै सरकार ढाल्ने र बनाउने परिपाटी हामीले समाप्त गर्यौं: मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश नयाँ युगमा प्रवेश गरिसकेको बताएका छन्। खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘प्रथम बहानेपोखरी महोत्सव २०७६’को उद्घाटन कार्यक्रममा उनले यो युग हाम्रो युग भएको बताए ।

हेलिकोप्टरमार्फत खोटाङ आएका मुख्यमन्त्री राईले देशमा पहिलोपटक स्थिर र बलियो सरकार बनेको बताए । ‘यो युग शान्ति, विकास, समृद्धि, सुशासन र राजनीनिक स्थायित्वको युग हो’, उनले भने । देशमा छ महिनामा सरकार ढल्ने युग समाप्त भइसकेकाले दिगो विकासमा सबै एकजुट हुनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।



‘विगतमा एउटा सरकार ढालेर फेरि नौ महिनापछि अर्को बनाउनुपर्ने अवस्था थियो’, उनले भने, ‘सरकार ढाल्ने र बनाउने परिपाटीलाई हामीले समाप्त गरिसक्यौँ । अब देशको दिगो विकास सरकारको एक मात्र कार्यसूची हुनेछ ।’

प्रदेश नं १ पर्यटकीय क्षेत्रको अथाह सम्भावना बोकेको प्रदेश भएकाले आआफ्नो क्षेत्रबाट धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गतिविधि गर्न स्थानीय तहका जनप्रतिनिधिलाई उनले आग्रह गरे । ‘आफ्नो क्षेत्रमा भएको कृषि तथा पर्यटनको प्रवद्र्धनमा लाग्नुहोस्’, उनले भने, ‘कृषि तथा पर्यटन नै प्रदेश नं १ को समग्र विकासको प्रमुख आधार हो ।’

सम्बन्धित समाचार