त्रिवि स्ववियु निर्वाचन सार्ने पक्षमा छैन : उपकुलपति बाँस्कोटा

त्रिभुवन विश्वविधालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सार्ने पक्षमा नभएको स्पष्ट पारेका छन् । स्वतन्त्र विधार्थी युनियन आरआर क्याम्पसले आयोजना गरेको ‘लोकतन्त्र व्यवस्थामा विद्यार्थी आन्दोलनको भूमिका र स्ववियुको अपरिहार्यता’ विषयक अन्तक्रिया कार्यक्रममा बाँस्कोटाले त्रिवि किमार्थ स्ववियु चुनाव सार्ने पक्षमा नभएको भन्दै जतिसक्दो चाँडो स्ववियु निर्वाचन हुनुपर्छ भन्ने पक्ष त्रिवि लागिपरेको स्पष्ट पारेका हुन् ।

सबै बिद्यार्थी संगठनहरू एक ठाँउमा हुन नसक्दा त्रिविले स्ववियु चुनाव मिति तोक्न नसकेको र त्रिविले पनि रेक्टर नियुक्तिको लागि पहल चाले पनि त्यो सफल भइनसकेको बाँस्कोटाको भनाइ थियो । विश्वविद्यालयमा प्रायःजसो पछिल्लो समयमा तालाबन्दी हुने गरेको प्रसंग सुनाउदै उनले भने ‘विश्वविद्यालय भनेको ज्ञानको भण्डार हो । ज्ञानको भण्डारमा ताला लगाउनु भनेको ज्ञानमा ताला लगाउनु हो । त्यसैले यस्तो कार्य पनि कसैले नगरौ ।’



कार्यक्रममा अनेरास्ववियुका नेता आरसी लामिछानेले नेपाली विद्यार्थी आन्दोलनको औचित्य विगतको झैं आज पनि सान्दर्भिक रहेको बताए । पछिल्लो समय केही नेताहरू गलत कार्यमा फस्दै गएको भन्दै उनले यस्ता व्यक्तिहरू कुनै पनि विद्यार्थी संगठनले बोक्न नहुने बताए ।

त्यसैगरी अखिल छैटौंका नेता विमल पोख्रेलले कुनै पनि विद्यार्थी संगठनको र त्रिविको आश्वासनले स्ववियु चुनाव हुन नसक्ने भन्दै त्रिविले स्ववियु चुनाव गर्नै नचाहेको आरोपसमेत लगाए । उनले पछिल्लो समयमा सरकारी विद्यालयमा पनि निजीकरण हुँदै जानु निन्दनीय भएको बताए । स्ववियु निर्वाचन हुननसक्नुमा अनेरास्ववियु र नेविसंघ नै मुख्य दोषी भएको उनको भनाइ थियो ।

सम्बन्धित समाचार