देशभरिका क्याम्पस आजदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीविहीन भएका छन् । आज हुने भनिएको स्ववियु निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचन भएका क्याम्पसका स्ववियु पदाधिकारीको कार्यकाल सकिएको हो ।
विशेष कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को यही फागुन ५ गते बसेको बैठकले आजका लागि तोकिएको स्ववियु निर्वाचन स्थगन गरेको थियो । त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले २०७३ सालमा भएका क्याम्पसका स्ववियु पदाधिकारीको पदावधि आजदेखि सकिएको जानकारी दिए।
‘प्रत्येक दुई-दुई वर्षमा हुने निर्वाचन गत वर्ष पनि हुन नसकेर हामीले छ-छ महिना गरी दुई पटक पदावधि बढाएका थियौँ’, उनले भने, ‘तर आज हुने भनिएको निर्वाचन विद्यार्थी सङ्गठनका कारणले हुन नसकेपछि ती निर्वाचित पदाधिकारीको पदावधि सकिएको छ ।’
विसं २०७३ मा २२ आङ्गिक र २८० सम्बन्धन प्राप्त क्याम्पसमा मात्र निर्वाचन भएको थियो । त्यसो त त्रिविका ६२ आङ्गिक क्याम्पस र एक हजार ३२ सम्बन्धन प्राप्त क्याम्पसमा २०६५ सालदेखि स्ववियु निर्वाचन हुन सकेको छैन जसका कारण ती क्याम्पसमा पहिल्यैदेखि नै स्ववियु पदाधिकारीविहीन भएका छन् ।