बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो। करिब ७ सय जनाका लागि खानपानको व्यवस्था थियो । मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले जन्तीलाई खुवाउन भनेर चारवटा खसी नै काठमाडौं ल्याएको थियो। काठमाडौंम रहेका आफ्ना जिल्लावासी र चिनेजानेका सबैलाई केटीको परिवारले निम्त्याएको थियो । बिहान १० बजेदेखि आउनेजाने निम्तालुको लर्कौ चलिरहँदा १२ बजे आउने भनेका जन्ती आइपुगेनन्। केटी पक्ष फोन डायल गर्न थाले ।
आफूलाई इन्जिनियर बताउने वर आश्रेय बस्नेतले फोनमा आत्तिएको स्वरमा पारेर आफ्ना माइला बुवा अचानक बितेकाले आउन ढिला भएको बताउँदै भने, ‘यताको तारतम्य मिलाएर जन्ती हिँड्छ ।’ सिनामंगल घर र आफूलाई डाक्टरको छोरा बताउने उनी दिन ढल्किँदा पनि जन्ती लिएर नआएपछि केटी पक्षमा हल्लीखल्ली मच्चियो ।
जन्ती आउने आसमा सिंगो दिन बिताएपछि केटी पक्ष सशंकित भयो । आफन्तले महानगरीय प्रहरी वृत्त बानेश्वरमा खबर गरे । वृत्तका डीएसपी दुर्गा रेग्मीसहितको टोली पार्टी प्यालेसमा पुगेर सबै जानकारी लियो । डीएसपी रेग्मीले भने, ‘केटी पक्षका सबैको अनुहार मलिन थियो। उनीहरूको कुरा सुनेर म चकित परें ।’
१५ दिनअघि काठमाडौंकै एक भव्य होटलमा भएको टीकाटालोपछि सोमबार बिहेको मिति टुंगो गरिएको थियो । राति अबेरसम्म पनि जन्ती आएनन्, केटा पक्षका कोही आफन्त उपस्थित नभएपछि केटी पक्ष घर फर्कियो ।
उनको भनिएको घरमा पुग्दा थाहा भयो, उनी त्यहाँ डेरा लिएर बसेका रहेछन् । ‘हामी पुग्दा ढोकामा ताला थियो,’ डीएसपी रेग्मीले भने, ‘केटी पक्षलाई हजुरआमा भनेर चिनाइएकी मान्छे पनि फेला परिनन्।’ विवाहको निम्तो कार्डका लागि केटाले दिएका बाबु र आमाको नाम पनि फर्जी भएको खुल्यो। केटाको वास्तविक नाम साहिल बस्नेत रहेको प्रहरीले पत्ता लगायो भन्ने खबर कान्तिपुर दैनिकमा छ।