सरकार ढाल्न प्रचण्ड र देउवाबीच गोप्य बैठक !

बुधबार बसेको नेकपा सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लाने निर्णय गर्यो । सर्वसम्मतले निर्णय गरेपछि गौतम पनि राष्ट्रिय सभामा जान तयार भए । यसअघि संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने बाटो खोले मात्र राष्ट्रिय सभामा जाने बताएका गौतम समयअनुकुल भएपछि संशोधन गर्ने शर्तमा राष्ट्रियसभामा जान तयार भएका थिए ।

तर सचिवालय बैठकले निर्णय लेखेको मसी सुक्न नपाउँदै प्रधानमन्त्री केपी ओलीले वरिष्ट नेता नेपाललाई फोन गर्दै गौतमलाई राष्ट्रिय सभामा सिफारिस नगर्ने बताए । सचिवालय बैठकबाट एकाएक ओली पछाडि हटेपछि नेकपामा खैलाबैला भयो । ओलीले आफूविरुद्ध घेराबन्दी भएको भन्दै सामना गर्न तयार रहेको अभिव्यक्ति दिएपछि नेकपाभित्रको विवाद छताछुल्ल भयो ।



ओलीले नेपाललाई फोन गर्दै राष्ट्रिय सभामा गौतमलाई नभई अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने बताए । ओलीले फोनमै सरकार ढाल्नेसम्मको खेल भएको भन्दै मेरा विरुद्ध खेल खेल्न खोज्नेविरुद्ध वार कि पार गर्ने बताएका थिए । ओली निकै रुष्ट र सशंकित भएको पाएपछि नेपालले भेटेरै छलफल गरौं भन्दै बालुवाटार पुगेका थिए ।

तपाईहरु सरकार ढाल्ने तयारीमा हुनुहुन्छ
नेपालसँगको भेटमा ओलीले सरकार ढाल्ने तयारी भैरहेको गोप्य स्रोतबाट थाहा पाएको बताएका थिए । ओलीले भने- ‘मलाई जानकारीमा आएसम्म सरकार ढाल्न तपाईहरुले कांग्रेससँग पनि छलफल गरिसक्नु भएको छ । गौतमलाई प्रधानमन्त्री नबनाउने भए संविधान संशोधनका कुरा किन आउथ्यो र । अहिलेको अवस्थामा सरकार ढालेर तपाईहरुले के गर्न खोज्नुभएको हो कम्रेड ? गौतमको लागि तपाई किन सति जान खोज्नुभएको हो ?’

जवाफमा नेपालले सरकार ढाल्ने कुनै योजना नबनेको बताएका थिए । भ्रममा परेर सचिवालय बैठककोे निर्णयबाट पछि नहट्न उनले सुझाव दिएका थिए । सचिवालयमा सर्वसम्मत भएको निर्णय उल्ट्याउँदा असहज परिस्थिति आउँन सक्ने भन्दै ओलीलाई संयमता अपनाउन नेपालले आग्रह गरेका थिए । गौतम प्रधानमन्त्री बन्न चाहेको शंका लाग्छ भने संविधान संशोधनको बेला अडान लिन सकिने सुझाव उनले ओलीलाई दिएका थिए ।

सरकार ढाल्न प्रचण्ड र देउवाबीच गोप्य बैठक
सरकार ढाल्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गोप्य छलफल भैसकेको बालुवाटार स्रोतको दाबी छ । केहि व्यापारीसहित बसेको बैठकले अर्थमन्त्रीलाई तत्काल हटाउने र ६ महिनाभित्र अविस्वासको प्रस्ताव ल्याएर या अल्पमतमा पारेर ओलीलाई राजीनामा दिन बाध्य बनाउने योजना बुनिएको स्रोतको दाबी छ ।

सोहि योजना अनुरुप गौतम हाल संविधान संशोधन नभएपनि राष्ट्रिय सभामा जान तयार भएको ओलीको बुझाई छ । अर्थ मन्त्रालय खाली हुने अवस्थामा सचिवालयबाट निर्णय गराएर गौतमलाई उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिलाउने र समय अनुकुल भएपछि संविधान संशोधन गराएर प्रधानमन्त्री सम्म बनाउने प्लान भैरहेको ओलीको आशंका छ । त्यसैले ओलीले अहिले नै गौतमलाई राष्ट्रियसभामा जाने बाटो बन्द गर्न लागिपरेका छन् ।

अल्पमतमा ओली
पछिल्लो समय पधानमन्त्री ओली पार्टीभित्रै अल्पमतमा पर्दै आएका छन् । वरिष्ट नेताद्धय झलनाथ खनाल र नेपाल अर्का अध्यक्ष प्रचण्डसँग नजिक भएसँगै ओली अल्पमतमा परेका छन् । पार्टीका पछिल्ला निर्णयमा प्रचण्ड आक्रमक देखिन्छन् भने ओली रक्षात्मक । सभामुख प्रकरणदेखि एमसीसी प्रकरणसम्म आउँदा ओली निकै कमजोर देखिएका छन् ।

सचिवालय बैठकमा पनि ओलीका एजेण्डाहरु लागु हुन छाडेका छन् । सचिवालय बैठकले संविधान संशोधनदेखि गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गर्दासम्म ओली लाचार भएर मौन समर्थन गर्न बाध्य भए । यसरी लाचार भैरहँदा सरकार नै ढल्ने स्थिति आउने भएकोले बुधबार ओलीले आफ्नो विरुद्ध खेल भएको भन्दै वार कि पारको अवस्था आए पनि गौतमलाई राष्ट्रिय सभामा नपठाउने निर्णय लिएका थिए । सचिवालयको निर्णय उल्ट्याउने ओलीको निर्णयले कालन्तरमा सरकार नै अफ्यारोमा पर्ने जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार