नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ फागुन ।
एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा नेपालमा हुन गइरहेको दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको भव्य समुद्घाटन भोलि फाल्गुण १७ गते शनिबार प्रज्ञा भवन कमलादीबाट हुनेछ । सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनबाट उद्घाटन हुने उक्त साँस्कृतिक मेला भव्य, सभ्य र शानदार हुने आयोजकले जनाएका छन् ।
यस संस्करणमा इस्टोनिया, मेक्सिको, बङ्गलादेश, भारत, मलेसिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलङ्का, इजिप्ट र नेपालको सहभागिता रहने आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष तथा दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाका संयोजक रामचन्द कोइरालाले जानकारी दिए । उनले मेलामा सहभागी मुलुकका सहभागी कलाकारहरू नेपाल आइपुगेको र मेलाका लागि अन्य आवश्यक सबै तयारीहरू पनि पूरा भइसकेको जानकारी गराए ।
स्वदेशी तथा विदेशी गरी २५० जनाभन्दा बढी कलाकार तथा अफिसियल्सहरू सहभागी हुने तथा आ–आफ्नो देशको मौलिक लोक संस्कृतिसम्बन्धी झाँकी प्रस्तुत गरिने यस प्रकारको भव्य कार्यक्रम प्रत्येक २-२ वर्षमा नेपालमा आयोजना गरिनु आफैंमा उपलब्धिपूर्ण रहेको र यस कार्यमा सहयोगी हातहरूको पनि ठूलो योगदान रहेको संयोजक कोइरालाले जानकारी दिए । उनले आफ्नै घरआँगनमा प्रस्तुत हुने यस प्रकारको अन्तर्राष्ट्रियस्तरको साँस्कृतिक झाँकीको प्रत्यक्ष सहभागी भई अवलोकन गरिदिन पनि अनुरोध गरे ।
मेला फाल्गुण १७ गते शनिबार गतेदेखि फाल्गुण २५ गतेसम्म मुलुकका विभिन्न भागहरूमा आयोजना गरिने कार्यक्रम रहेको छ ।