राजधानीमा आयोजित एउटा विवाहमा दुलाहा नआएपछि हल्लीखल्ली मच्चिएको थियो । काठमाडौँको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएको जन्ती नै नआएपछि केटी पक्षले प्रहरीलाई उजुरी गरेका थिए । आफूलाई इञ्जिनियर बताउने आश्रेय वस्नेतले आफ्नो घर सिनामंगल भएको र आफू डाक्टरको छोरा भएको बताएका थिए ।
१५ दिनअघि उनीहरुको टिकाटालो पनि भएको थियो । टिकाटालोमा केटी पक्षले केटापक्षलाई चार तोला सुनको गहना पनि दिएका थिए । प्रहरीलाई उजुरी गरेपछि प्रहरी वस्नेत बस्ने भनिएको घर पुग्दा उनी डेरमा बस्ने रहेछन्, कोठामा पनि ताला लागेको थियो । केटापक्षले हजुरआमा भनेर चिनाएकी मान्छे पनि फेला परिनन् । कार्डमा दिइएको केटाको बाबु–आमाको नाम पनि नक्कली रहेको खुल्यो । केटाको वास्तविक नाम पनि साहिल बस्नेत रहेछ ।
काठमाडौँमा नभेटिएका बस्नेत अन्ततः पोखरा विमानस्थलमा भेटिए । उनको साथबाट स्रोत नखुलेको चार हजार अमेरिकी डलर पनि फेला परेको छ । काठमाडौँ प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीका अनुसार आफूलाई इन्जिनियर भने पनि बस्नेतको दाबी पुष्टि गर्ने आधार देखिएको छैन । उनलाई आपराधिक विश्वासघात ठगी मुद्दा चलाउने भइरहेको छ । साहिललाई काठमाडौं ल्याएर म्याद थप गरी अनुसन्धान गरिने डिएसपी बोगटीले बताए ।