मुना हत्या प्रकरणमा प्रहरी अनुसन्धानको निचोड आयो

मुनाको हत्यापछि विजयले आत्महत्या गर्नुको कारण पहिल्याउन नसकेपछि ललितपुर प्रहरी पूर्वसचिव अर्जुन कार्कीको घरमा भएको घटनालाई ‘भवितव्य’ मानेर अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा छ ।  ललितपुरको सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीको घरमा भएको घटनासम्बन्धी प्रहरीको अनुसन्धान लगभग पूरा भएको छ ।

घटनामा कार्कीकी श्रीमती मुना र घरमा सहयोगीका रूपमा कार्यरत विजय चौधरीको मृत्यु भएको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानपश्चात विजयले मुनाको हत्या गरेपछि आत्महत्या गरेको निष्कर्ष निकालेको थियो ।



तर, मुनाको हत्या गरेर विजयले आत्महत्या गरेको निष्कर्ष निकालेको प्रहरीले हत्या गर्नुको कारण भने पहिल्याउन सकेन । प्रहरीले अनुसन्धान प्रतिवेदन अब चाँडै जिल्ला सरकारी वकील कार्यालय ललितपुरमा बुझाउने तयारी गरेको छ । ‘अनुसन्धान सकिएको छ, अब केही सामान्य विषयबारे मात्र बुझ्न बाँकी छ”, प्रहरीले स्रोतले भन्यो, “छिट्टै सबै अनुसन्धानको विषय समेटेर प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाइने छ ।’

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले ‘भवितव्य घटना’का रूपमा प्रतिवेदन बनाएर बुझाउने तयारी भइरहेको बताए । उनले भने, “नयाँ कुरा खास केही भेटिएन, यस्ता घटनालाई भवितव्यकै रूपमा प्रतिवेदन बुझाउने गरिएको छ ।’

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख, एसएसपी टेकप्रसाद राईले पनि हत्यापछिको आत्महत्याको कुनै कारण खुल्न नसकेको बताए । “हामीले अनुसन्धानका सबै विषय सकिसकेका छौं। कारण केही खुल्न सकेन”, उनले भने, ‘अब अनुसन्धानका क्रममा संकलन गरेका विषयवस्तुसहित प्रतिवेदन बुझाउछौं । यसपछि सरकारी वकील कार्यालयले नै हेरेर के गर्ने भन्ने निर्णय गर्छ ।’

२७ माघमा सानेपास्थित पूर्वसचिव कार्कीको घरमा उनकी पत्नी मुनाको हत्या भएको थियो भने कामदार विजय चौधरीले आत्महत्या गरेका थिए ।  प्रहरीले घटनास्थल मुचुल्का, त्यहाँ प्राप्त प्रमाण, घटना सम्बन्धमा प्रहरीले पाँचजनासँग लिएको बयान, पोष्टमार्टम रिपोर्टसहित मोबाइलको फरेन्सिक जाँचकोसमेत अध्ययन गरिसकेको छ ।

यी सबैको अध्ययनबाट कुनै प्रमाण भने फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्टले ४९ वर्षीया मुनाको मृत्यु मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोधका कारण भएको देखाएको छ । विजयको भने झुन्डिएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।

प्रहरीले मृतक मुनाका पति, पूर्वसचिव कार्कीसँग पनि आवश्यक सोधपुछ गरिसकेको छ । २७ माघ बिहान सानेपास्थित घरमा मुना भान्छाकोठामा रक्ताम्मे अवस्थामा भेटिएकी थिइन् भने विजय झुन्डिएको अवस्थामा भेटिएका थिए । घाइते मुनालाई उपचारका लागि सानेपास्थित स्टार अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनापछि कार्की र चौधरीका परिवारले घटनाको निष्पक्ष अनुसन्धानको मागसहित महानगरीय प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए ।

सम्बन्धित समाचार