नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नाकावन्दीका बेला नाकाबन्दी भन्न नसक्ने कांग्रेसले अहिले केकमा राष्टवाद देखाइरहेको आरोप लगाएका छन् । नेकपाद्वारा आयोजित बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण तथा भेलामा प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन् ।
प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनको अवसरमा तेह्रथुमको आठराईमा केक काट्दा काठमाडौंमा रूवावासी भएको टिप्पणी गरे । उनले भने ‘मेरो जन्मदिनमा म धेरैपछि मेरो जन्मघर गएँ, मैले त्यहाँ खानेपानीको व्यवस्था गरिदिएँ । विजुली पुर्याइदिएँ, पुस्तक वितरण गरें । त्यहाँका जनता पनि खुसी भए, सबैले नाचगान गरे, रमाइलो गरे । त के भो ? रमाइलो गर्दा कसले के के ल्याए ? मलाई के थाहा ? त्यो ठूलो कुरै भएन नि ।’
प्रधानमन्त्री केपी शर्मा ओली केहीदिन अघि तेह्रथुमको आठराईस्थित आफ्नो जन्मदिन मनाउँदा नेपालको नक्सा आकृतिको केक काटिएको भनेर सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
अहिले प्रतिपक्षले प्रधानमन्त्रीले संसदमा आउनु पर्यो र जवाफ दिनुपर्यो भनिरहेको भन्दै उनले भने ‘संसदमा हाम्रो बहुमत छ, म संसदमा नआएर कहाँ आउँछु ? जनताबाट निर्वाचित र संसदले नै मलाई प्रधानमन्त्री बनाएको हो ।’