चीनको बुहानबाट शुरु भएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण अन्य देशहरुमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशकले संक्रमणविरुद्धको लडाई अब निर्णायक चरणमा पुगेको बताएका छन् ।
चीन बाहेक अन्य देशमा पनि महामारीको रुपमा फैलिएको संक्रमणलाई महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले सबैभन्दा बढी चिन्ताको विषय रहेको बताएका छन् ।
अब हाम्रो मुख्य चासो चीन होइन, बाँकी विश्वमा छ : डब्ल्युएचओ
विश्व स्वास्थ्य संगठनका महासचिव टेड्रोस अधानम गेब्रीससले कोरोना भाइरसका विषयमा अब मुख्य चासोको स्थान चीन नभई बाँकी विश्व भएको बताएका छन् । गत दुई दिनदेखि नयाँ भाइरस संक्रमितको संख्या चीनमा भन्दा बाँकी मुलुकमा बढी देखिएको छ ।
यतिबेला चीनमा ४८ हजार ६३० संक्रमित छन् भने दुई हजार ७४७ को ज्यान गएको छ । चीन बाहिर तीन हजार ४७४ संक्रमित हुँदा ४४ को ज्यान गएको छ । ‘बाँकी संसारमा जे भइरहेको छ, हाम्रो मुख्य चासो त्यसमा छ,’ टेड्रोसले भने ।
गएको २४ घण्टामा सात नयाँ मुलुकले आफ्नो कोरोना संक्रमित फेला परेको बताएका छन् । उनले सबै मुलुकलाई तत्काल भाइरस नियन्त्रणमा जुट्न पनि आग्रह गरेका छन् । उचित उपाय अपनाए त्यसको प्रकोप नियन्त्रण गर्न सकिने उनले बताए । पछिल्लो समय इरान, इटाली र दक्षिण कोरियामा तीव्र रुपमा फैलिइरहेको भाइरसका कारण मृतकको संख्या बढी रहेको समाचारमा जनाइएको छ ।
चीन बाहेक हालसम्म ४४ देशमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । भाइरसका कारण विश्वभर ८२ हजार भन्दा बढी प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।