एसिड प्रहार गर्ने एक भारतीयलाई ८ वर्ष कैद र १ करोड १४ लाख जरिवाना

हेटौडा उपमहानगरपालिका ३, मेनरोडकी एक युवतीमाथि एसिड आक्रमण गर्ने भारतीयलाई ६ वर्षपछि ८ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधिश कमलराज विष्टको इजलासले भारतीय नागरिक ४० वर्षीय दीलिपराज केशरीलाई ज्यान मार्ने उद्योगअन्तरगत ८ वर्ष कैद र १ करोड १४ लाख रुपैंया जरिवानाको फैसला गरेको हो ।

अदालतले केशरीबाट पीडित पक्षलाई १ करोड १४ लाख ८५ हजार रुपैंया क्षतिपूर्ति भराउने आदेश गरेको अदालतका तहसिलदार तुल्सी लामिछानेले बताए। त्यस्तै, एसिड आक्रमणको मतियारको रुपमा आरोपी सञ्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैंया जरिवानाको फैसला गरेको छ ।



घटना भएको साढे छ वर्षपछि कात्तिक १४ गते केशरीलाई प्रहरीले पक्राउ गरेको थियो भने त्यसको १० दिनपछि अर्का अभियुक्त मण्डल पनि पक्राउ परेका थिए । भारतको उत्तर प्रदेश, महाराजगंज जिल्ला, अमरपुर्वन वडा नम्बर ६ का केशरीले हेटौंडा उपमहानगरपालिका ३, मेनरोडकी विन्दवासिनी कंसाकारलाई २०७० बैशाख ९ गते पसलमा एसिड प्रहार गरी फरार भएका थिए । एसिड प्रहार गरेपछि भाग्न सहयोग गरेको अभियोगमा मण्डललाई पनि पक्राउ गरिएको थियो ।

एसिड प्रहारबाट पीडित भएकी कंसाकारले केशरीलाई हदैसम्मको सजायँ र उपचार खर्च पाउनुपर्ने माग गर्दै आएकी थ्इिन् । ‘बुवाले ८० लाख भारतीय रुपैंया बढी खर्च गर्नुभएको छ,’ उनले भनिन् ।

एसिड आक्रमण भएपछि उनको नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । बैंक ऋण लिएर उपचार गराएको र तिर्न नसक्दा बुवाको नाम कालो सूचीमा निकालेको भन्दै उनले दुःखेसो पोखिन् । ‘उपचार खर्च नै मासिक २० हजार रुपैंया भन्दा बढी छ,’ उनले भनिन्, ‘सरकारबाट अहिलेसम्म कुनै सहयोग पाएको छैन ।’ आजको नागरिक दैनिकमा खबर छ ।

सम्बन्धित समाचार