इरानमा उच्च सरकारी अधिकारीहरूलाई पनि धमाधम कोभिड-१९ को संक्रमण देखिन थालेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार त्यहाँकी उपराष्ट्रपति मसुमेह इब्तेकरलाई पनि कोभिड-१९ देखिएको छ । उनी इरानका चार जना उपराष्ट्रपतिमध्ये महिला मामिलासम्बन्धी उपराष्ट्रपति हुन् । क्याबिनेट बैठकमा इब्तेकर राष्ट्रपति हसन रूहानीको नजिकै बस्ने गर्थिन् । बिहीबार पनि उनी क्याबिनेट बैठकमा सहभागी भएकी थिइन् ।
कोभिड-१९ को संक्रमण देखिएपछि उनी अहिले घरमै क्वारेन्टाइन बसिरहेको इरानी मिडियाले जनाएका छन् । इरानमा कोभिड-१९ बाट संक्रमित हुने उनी सातौं उच्च सरकारी अधिकारी हुन् । अरू कुनै पनि देशमा उच्च तहका यति धेरै सरकारी अधिकारीलाई उक्त भाइरसले छोएको छैन ।
इरानमा यसअघि उपस्वास्थ्य मन्त्रीलाई कोभिड-१९ देखिएको थियो । इरानका सांसद तथा संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख मोज्ताबा जोल्नुर, सांसद मोहम्मद सादेगी, तेहरानका एक मेयर मोर्ताजा रहमानजादा, कोम सहरका स्वास्थ्य विश्वविद्यालयका निर्देशक डाक्टर मोहम्मद रेजा गादिर र भ्याटिकनका लागि पूर्वइरानी राजदूत हादी खोस्रोसाहीलाई कोभिड-१९ भएको छ । तीमध्ये ८१ वर्षीय हादीको सोही बिरामका कारण ज्यान गइसकेको छ ।
इरानमा कोभिड-१९ बाट अहिलेसम्म २६ जनाको ज्यान गएको छ भने २ सय ४५ जना संक्रमित भएका छन् । बन्द समाज र कमजोर स्वास्थ्य प्रणाली भएकाले संक्रमितको संख्या योभन्दा धेरै हुने अनुमान गरिएको छ ।
इरानमा सबैभन्दा बढी कोम सहरमा कोभिड-१९ को संक्रमण देखिएको छ । संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि शुक्रबारको प्रार्थनाहरू रद्ध गरिएको छ । स्कुल र विश्वविद्यालय मार्च २१ सम्मका लागि बन्द गरिएको छ । साथै सबै प्रकारका सांस्कृतिक र खेलकुद कार्यक्रम पनि रोकिएको छ ।
इरानमा चीनबाट कोभिड-१९ पुगेको विश्वास गरिएको छ । अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले प्रतिबन्ध लगाएको इरान र चीनबीच अहिले पनि सुमधुर सम्बन्ध छ । चीनसँगको व्यापार इरानको अर्थतन्त्रलाई सहयोग पुगेको छ ।
चीनले शुक्रबार कोभिड-१९ जाँच्ने बीस हजार किट इरानलाई दिन लागेको छ । कोभिड-१९ जाँच्ने प्रयोगशालामा पनि २ बाट ७ पुर्याएको छ भने अर्को सातासम्म ती प्रयोगशालाको संख्या २२ पुग्ने जनाइएको छ ।