अर्थमन्त्रीले पुस्तकमा कर लगाएको हो, ज्ञानमा होइन भनेपछि गगन थापाले दिए यस्तो जवाफ…

नेपाली कांग्रेसका नेता गगन थापाले पुस्तकमा लगाएको करबारे बहस गर्न आफू संसद्, विश्वविद्यालय, माइतीघर मण्डला जहाँ जान पनि तयार रहेको बताएका छन् । सरकारको नियमित पत्रकार सम्मेलनमा विहीबार सञ्चार मन्त्रालयमा अर्थमन्त्री खतिवडाले ज्ञानमा नभई पुस्तकमा १० प्रतिशत कर लगाइएको भनेको भोलिपल्ट नेता थापाले सामाजिक संञ्जालमार्फत पुस्तक करबारे बहस गर्न तयार रहेको जवाफ दिएका हुन् ।

थापाले लेखेका छन् ‘‪विद्वान अर्थमन्त्रीज्यूले भन्नुभएछ ‘पुस्तकमा कर लगाएको हो, ज्ञानमा होइन । करको विषयमा बहस गर्न तयार छु । ‪मन्त्रीज्यू हामी पनि तयार छौँ । बहस कहाँ गरौं ? संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?’‬‬‬‬‬



सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खतिवडाले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारको नीतिअनुसार नै विदेशबाट आयात गरिने पुस्तकमा १० प्रतिशत कर लगाइएको भन्दै ज्ञानमा कर लगायो भन्दै पुस्तक व्यापारीको अफवाहमा लाग्न जरूरी नभएको उल्लेख गरेका थिए ।

एउटा पुस्तकबाट ३० देखि ४० प्रतिशत कमिसन लिन मिल्ने तर १० प्रतिशत कर तिर्दा किन समस्या भन्दै मन्त्री खतिवडाले प्रश्नसमेत गरेका थिए । पुस्तकको करको विषयमा आफू खुल्ला बहस गर्न तयार रहेको पनि बताएका थिए ।

सम्बन्धित समाचार