नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ फागुन ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरी, वकिल र न्यायधीस नबन्न सुझाव दिएका छन् । विहीबार एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निवर्तमान सञ्चारमन्त्री तथा नेकपाका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण बचाउ गरेपछि शर्माले सामाजिक सञ्जालमार्फत सो सुझाव दिएका हुन् ।
प्रधानमन्त्रीले सबै काम आफैं गर्दा भारी हुने भन्दै प्रवक्ता शर्माले ट्वीटमा लेखेका छन् ‘सम्माननीय प्रधानमन्त्रीलाई सुझाव पत्र । पूर्व प्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनोस् । कृपया अनुसन्धान प्रहरीले, बहस वकिलले र फैसला न्यायाधीशले गर्ने हो । अरूको कर्म पनि यहाँले नै गरे प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ । अझ ‘अडियो’ को प्राविधिक परिक्षणसम्म यहाँले नै ?’
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि बाँस्कोटाले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटाको नाम जोडेर बाहिर ल्याएको अडियोमा कुनै सत्यता नभएको भन्दै त्यसको बचाउ गरेका थिए ।
सम्माननिय @PM_Nepal लाई `सुझाव पत्र´ !
पुर्व प्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनोस् कृपया !अनुसन्धान प्रहरीले,बहस वकिलले र फैसला न्यायाधीशले गर्ने हो l अरुको कर्म पनि यहाँले नै गरे प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ l अझ `अडियो´ को प्राविधिक परिक्षणसम्म यहाँले नै ??
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 28, 2020