नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ फागुन ।
एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा नेपालमा हुन गइरहेको दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको भव्य समुद्घाटन भोलि फाल्गुण १७ गते शनिबार प्रज्ञा भवन, कमलादीमा हुँदैेछ । सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनबाट उद्घाटन हुने उक्त साँस्कृतिक मेलालाई भव्य, सभ्य र ऐतिहासिक बनाउन अहोरात्र खटिरहेको आयोजक टिमले यो संस्करण विशेष हुने जनाएको छ ।
मेलाको यस दशौं संस्करणमा इस्टोनिया, मेक्सिको, बङ्गलादेश, भारत, मलेसिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलङ्का, इजिप्ट र नेपालको सहभागिता रहने आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष तथा दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाका संयोजक रामचन्द कोइरालाले जानकारी दिए । उनले मेलामा सहभागी हुने मुलुकहरूका अधिकांश सहभागी कलाकारहरू नेपाल आइपुगेको र मलेसिया र मेक्सिकाका कलाकारहरू आज अबेरसम्ममा नेपाल आइपुग्ने र त्यसका लागि अन्य आवश्यक सबै तयारीहरू पूरा भइसकेको जानकारी गराए ।
साँस्कृतिक मेलाको उद्घाटनस्थल प्रज्ञा भवनलाई सजाउने कार्य पनि भइसकेको र यस पटकको मेला विगतभन्दा विशेष हुने आयोजकले जानकारी दिए । सम्माननीय उपराष्ट्रपतिद्वारा भोलि उद्घाटन हुने मेलाका दर्शकहरूलाई २ः३० बजेभित्र आ–आफ्नो सिट ग्रहण गरिसक्न पनि आयोजकले आग्रह गरेका छन् ।
मेला भोलि फाल्गुण १७ गतेदेखि फाल्गुण २५ गतेसम्म मुलुकका विभिन्न भागहरूमा आयोजना गरिने कार्यक्रम रहेको छ ।