नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पुस्तकमा लगाइएको कर फिर्ता लिन माग गर्दै देशभर विरोध प्रदर्शन गरेको छ ।
संघले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कानुनी कारवाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्नेलगायतका माग राखी आज देशभर विरोध गरेको हो ।
नेविसंघले काठमाडौं उपत्यकाका त्रिचन्द्र, नेपाल ल कयाम्पस, शङ्करदेव, सरस्वती, पाटन, पशुपति, ग्रामीण आदर्शलगायतका क्याम्पस र देशभरका विभिन्न क्याम्पसअगाडि प्रदर्शन गरेको महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।
महामन्त्री भट्टराईले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको उल्लेख गरे । ‘सरकारले जनतालाई राहत दिनुपर्नेमा झन् महँगी बढाउँदै लगेको छ,’ उनले भने । अर्का महामन्त्री मनोज वैद्यले नेविसंघले राखेका माग सरकारले पूरा नगरे आन्दोलन निरन्तर जारी राख्ने बताए ।