नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ फागुन ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वतमान सञ्चार मन्त्रीले कमिसन मागेको अडियो प्रकरणमा छानविन अघि नबढेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सभापति देउवाले आपत्ति जनाएका हुन् ।
सभापति देउवाले कमिसन मागेको अडियो सार्वजनिक भएको हप्तादिन भइसक्दा पनि छानविन हुन नसक्नुको पछाडि सरकारको नियत के हो ? भन्दै प्रश्न गरेका छन् ।
उक्त कमिसन मागेको अडियो सञ्चारमन्त्रीले हामीलाई कति आउँछ भनेर बोलेको प्रष्ट सुनिएको भन्दै देउवाले ‘हामी’ भन्नाले कसलाई भनिएको हो प्रष्ट पार्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । साथै, देउवाले अडियो छानविन हुनुपूर्व नै प्रधामन्त्रीले अडियो नक्कली भएको बताउनुले छानविनलाई प्रभावित पार्छ कि पार्दैन ? भनी प्रश्नसमेत गरे ।
सेक्युरिटी प्रिण्टिङ प्रेस खरिदमा कमिसन मागेको अडियो बाहिरिएपछि गोकुलप्रसाद बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।