चेक बाउन्स मुद्दामा काठमाडौं जिल्ला अदालतले मोडल खुश्वु ओलीलाई दुई वर्ष जेल सजायको फैसला सुनाएको छ । शुक्रबार जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले लेनदेन मुद्दामा उनलाई दुई वर्ष कैदको फैसला सुनाएको हो ।
सप्तरीको राजविराज–८ का गोपाल कटुवालसँग ओलीले २ वर्षअघि लिएको ३६ लाख रुपैयाँ नतिरेपछि कटुवालले मुद्दा दायर गरेका थिए । कटुवालले पटक पटक रकम फिर्ताका लागि ताकेता गरेपछि ओलीले चेक दिएकी थिइन् । तर ओलीको खातामा रकम नभएको भन्दै ब्याङ्कले कटुवाललाई रित्तै फिर्ता पठाएको थियो ।
बैंक चेक नभजिएपछि कटवालले ओलीविरुद्ध दायर गरेको ‘चेक बाउन्स’ सम्बन्धि मुद्दामा जिल्ला अदालतले ओलीविरुद्ध गत जेठमा ३ महिना कैद र ३ हजार जरिवानासहित चेकको रकम साँवा र व्याजसहित तिर्न आदेश दिएको थियो । तर अदातलको त्यो फैसला कार्यान्वयन नभएपछि कटुवालले फैसला कार्यान्वयनको माग गर्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दिए ।
त्यसपछि साउन १३ गते जिल्ला अदालतले म्याद तामेल गरी सम्बन्धित वडामा पठायो । वडाले म्याद तामेल गर्दा पनि ओली सम्पर्कमा आइनन् । त्यसपछि कटुवालले ओलीको जायजेथा प्राप्त गर्न नसेकेको र उनी सम्पर्कमा समेत नआएको भन्दै जरिवाना र बिगो बमोजिम कैद माग गर्दै २८ पुसमा फेरि मुद्दा दिए ।
उक्त मुद्दाको फैसला गर्दै ओलीलाई जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार दुई वर्ष कैदको फैसला सुनाएको हो । ओली सन् २००० मा मिस टिन नेपाल भएकी थिइन् । त्यसपछि उनले मोडलिङ गर्दै आएकी थिइन् ।