ललितपुर प्रहरी परिसरले बच्चा बोकेकी महिलालाई निर्ममतापूर्वक पिट्ने प्रहरी निरीक्षक-इन्स्पेक्टर देवी पौडेललाई जिम्मेवारीबाट हटाएको छ । ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईका अनुसार पौडेललाई भेँसेपाटी प्रहरी प्रभाग प्रमुखबाट हटाइएको हो । उनले भने ‘ मैले शुक्रबार नै उहाँलाई त्यहाँबाट हटाएको पत्र पठाइसकेको थिएँ’ ।
गत बिहीबार भैँसेपाटीस्थित पूर्व जर्नेल हेम खत्रीको घरमा हुलदंगा र तोडफोड गरेको भन्दै इन्स्पेक्टर पौडेलले बच्चा बोकिरहेकी हेमा श्रेष्ठलाई लखेट्दै लाठी प्रहार गरेका थिए । पौडेलले श्रेष्ठलाई लठ्ठी बर्साइरहेको भिडियो सामाजिक सन्जालमा भाइरल बनेको थियो ।
प्रहरीका अनुसार शाहको समूहले खत्रीको घरमा तोडफोड गरेको थियो । विवाहित खत्रीले आफुलाई कोठामा राखेर २२ वर्षदेखि श्रीमतीको व्यवहार गरिरहे पनि पछिल्लो समय नहेरेको दावी शाहको छ । प्रहरीले शाहलगायत केहीलाई अभद्र व्यवहार कसुरमा हिरासतमा राखेको छ ।