अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको भव्य शुभारम्भ

एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा शनिबार अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको प्रज्ञा भवन, कमलादीमा भव्य शुभारम्भ भयो । सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनबाट पानशमा बत्ती बाली आभारम्भ भएको कार्यक्रममा १० देशका सयौं कलाकारहरूले आ–आफ्नो मौलिक नृत्य प्रस्तुत गरेका थिए ।

नौंवटा अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको सफल आयोजना गरिसकेको एभरेष्ट नेपाल कल्चरल ग्रुपले दशौं संस्करणलाई अझ बढी भव्य र शानदार रूपमा प्रस्तुत गरेको थियो । यस संस्करणमा इस्टोनिया, मेक्सिको, बङ्गलादेश, भारत, मलेसिया, डेनमार्क, इजरायल, बुल्गेरिया, श्रीलङ्का र नेपालको उत्साहपूर्ण सहभागिता रहेको थियो भने प्राविधिक कारणले इजिप्टको टोली उद्घाटन कार्यक्रममा सहभागी हुन नसकेको कुरा ग्रुपका अध्यक्ष आरसी कोइरालाले बताए ।



उद्घाटन कार्यक्रममा प्रस्तुत विभिन्न देशको मौलिक परम्परालाई नेपाली दर्शकहरूले सास रोकेर हेरेका थिए र हरेक देशको आरम्भ र अन्त्यमा तालीको गड्गडाहटले स्वागत गरेका थिए । कार्यक्रम अत्यन्त शानदार रूपमा अगाडि बढेको थियो ।

साँस्कृतिक मेलाको उद्घाटन कार्यक्रममा अनावश्यक भाषण र नेताहरूको कटाक्ष केही भएन । सम्माननीय उपराष्ट्रपति कार्यक्रमस्थलमा प्रवेश गर्नेबित्तिकै कार्यक्रम आरम्भ भएको थियो भने मेला संयोजक तथा एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइरालाले कार्यक्रमको इतिहास र वर्तमानका बारेमा प्रकाश पारेका थिए ।

औपचारिक रूपमा आरम्भ भएपछि हरेक देशको साँस्कृतिक झलक प्रस्तुत गर्नुपूर्व उद्घोषकले त्यस प्रस्तुतिका बारेमा सारसङ्क्षेप प्रस्तुत गरेर प्रस्तुतिलाई थप रोचन बनाएकी थिइन् । भाषा नबुझ पनि सङ्गीतको तालमा दर्शकहरू झुमेका थिए ।

सम्बन्धित समाचार